सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘घुम्ती किम्फ’ को सुदूरपश्चिम यात्रा सुरु, पहिलो दिन एक हजार बढीले गरे चलचित्र अवलोकन

२०८२ मंसिर ८, ०४:५१ जयन्त सिंह भाट

धनगढीः काठमाण्डौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को संस्करण ‘घुम्ती किम्फ’ को सुदूरपश्चिम यात्रा सुरु भएको छ। 

आज सोमबार कैलाली बहुमुखी क्याम्पसको मेगा हलमा क्याम्पस प्रमुख सहप्राध्यापक डा.लोक बहादुर बिष्ट र संस्थाकी अध्यक्ष रामयता लिम्वुले चलचित्र महोत्सवको उद्घाटन गरेका हुन्। उद्घाटन पश्चात सुदूरपश्चिम र कर्णालीमा प्रचलित घाउपडी प्रथामा आधारित वृत्तचित्र ‘छउ’ प्रदर्शन गरेर घुम्ती किम्फको आरम्भ गरिएको थियो। 

किम्फ फाउण्डेसनकी अध्यक्ष लिम्वुले चलचित्र महोत्सवको उद्धेश्य केवल चलचित्र र वृत्तचित्र प्रस्तुत वा प्रदर्शन गर्ने मात्र नभएर सामाजिक विषयवस्तुमा आधारित वहस, पैरवी गर्ने अवसर सिर्जना गर्ने र विचारको आदानप्रदान गर्नु रहेको बताईन।  
“नेपालका विशेष मुद्दाहरुमा काठमाण्डौँ बाहिर पनि छलफल गर्ने गरि  हामी सुदूरपश्चिम यात्रामा आएका छौँ” उनले भनिन। 

हाम्रो समाजमा र दैनिक जीवनमा घटिरहेका यथार्थ घटनाहरुमा आधारित विषयवस्तुहरु देशका विभिन्न वर्ग र भूगोलमा चलचित्रका माध्यमबाट पुर्याउन र लक्षित वर्गका विषयवस्तु उठान गर्न घुम्ति किम्फले खेलेको भुमिका महत्वपूर्ण रहेको कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख  बिष्टले बताए। 

सुदूरपश्चिमका चार जिल्ला कैलाली, कञ्चनपुर, डडेलधुरा र अछाममा चलचित्र महोत्सवको यो संस्करण आयोजना हुने किम्फ फाउण्डेशनले जनाएको छ।  धनगढीमा आजबाट सुरु भएको किम्फ चलचित्र महोत्सवको पहिलो दिन  क्याम्पस र धनगढीका विभिन्न विद्यालयका एक हजार भन्दा बढी दर्शक विद्यार्थीहरुले अवलोकन गरेका छन्। 

यो फेस्टिभल मंसिर ८ गतेदेखि १९ गतेसम्म सुदूरपश्चिमका विभिन्न स्थानमा सञ्चालन हुने आयोजक किम्फ फाउन्डेसनले जनाएको छ। फेस्टिभलमा सामाजिक विषयवस्तुमा आधारित छोटो फिल्म र डकुमेन्ट्रीहरु प्रदर्शनका साथै कार्यशाला, बहस र छलफलका सत्रसमेत आयोजना गरिने जनाइएको छ। 

आयोजकका अनुसार यी सत्र लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानसँग मेल खाने हिसाबले यो संस्करण तय गरिएको हो। यस कार्यक्रमले सुदूरपश्चिमका युवा, फिल्मकर्मी र समुदायलाई चलचित्र मार्फत सामाजिक चेतना बढाउने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ। 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस