एनपीएलः आज सातौँ दिन खेल राखिएन, सोमवार दुई खेल हुने
काठमाडौँ: दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज सातौँ दिन आइतवार खेल राखिएको छैन।
नेपाल क्रिकेट सङ्घले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा आज विश्राम दिन राखिएको थियो। भोलि सोमवार भने त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा दुई खेल हुनेछन्। बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ। त्यसैगरी, दोस्रो खेल दिउँसो ४ः०० बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।
हालसम्मको अङ्कतालिकाअनुसार दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स चार–चार अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन्। तीन खेल खेलिसकेको काठमाडौँ गुर्खाज भने दुई अङ्क जोड्दै तेस्रो स्थानमा छ। दुईवटा खेल खेलेको पोखरा भने दुवै पराजित हुँदै पुछारमा छ।
मङ्सिर १ गतेदेखि सुरु एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्। मङ्सिर २७ गते फाइनल हुनेछ।