कञ्चनपुरमा लागूऔषधसहित ६ जना पक्राउ
कञ्चनपुर: कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। बेलौरी, गड्डाचौकी र खैरानामा गरिएको अलग–अलग प्रहरी कारबाहीमा खैरो हेरोइन तथा ब्राउनसुगर जस्तो देखिने लागूऔषध बरामद भएको छ।
बेलौरी नगरपालिका–१० बाट मंगलबार दिउँसो ४ ग्राम ५ सय ४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका–८ श्रीपुरका २६ वर्षीय रामजनम चौधरी र २८ वर्षीय उमेश चौधरी रहेका छन्। प्रहरी चौकी भुँडाबाट खटिएको टोलीले सु.प.प्र.०१२ प ३६०० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
त्यसैगरी, भिमदत्त नगरपालिका–११ गड्डाचौकीबाट मंगलबार साँझ २०० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका–९ लालपुरका २१ वर्षीय अरविन्द रोकाया, सोही नगरपालिका–३ का २० वर्षीय सुमित साउँद र नगरपालिका–१० का २१ वर्षीय साजन कठायत रहेका छन्। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
यता, बेलौरी नगरपालिका–६ खैरानाबाट मंगलबार दिउँसो ४ ग्राम ५ सय २० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ३१ वर्षीया सावित्री चौधरी पनि पक्राउ परेकी छन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
सबै घटनामा प्रहरीले बरामद गरिएको पदार्थ परीक्षणका लागि पठाइएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।