स्नातकोत्तर गरेका कञ्चनपुरका श्रवण व्यावसायिक कृषिमा
कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–१२ का ३५ वर्षीय श्रवण चौधरी स्नातकोत्तर तहसम्म अध्ययन गरेर व्यावसायिक कृषि कार्यमा लागेका छन्।
चौधरी बिहान–साँझ खेत र पोखरीमा व्यस्त रहन्छन्। बिहान माछालाई चारो हाल्ने, पोखरीको व्यवस्थापनमा ध्यान दिने उनले दिउँसोपख भने अहिले मजदुरसँगै उखु रोप्ने कार्यमा जुट्ने गरेका छन्। विद्यालय पढ्ने समयदेखि नै कृषि व्यवसायमा रुचि राख्ने चौधरीले आजसम्म त्यो कार्यलाई निरन्तरता दिएका छन्। सुरुमा एउटा सानो पोखरीबाट सुरु गरिएको माछापालन अहिले पाँच वटा पोखरीमा परिणत भएको छ।
दुई बिघा जग्गामा पाँच वटा पोखरी निर्माण गरी उनले कमन, रोहुँ, नैनी, ग्रास, भाकुर र सिल्भर जातका माछापालन गरेका छन्। उनका अनुसार पोखरीमा प्रत्येक वर्ष करिब २० क्विन्टल माछा उत्पादन हुने गर्छ। त्यसको बजार मूल्य सात लाखदेखि आठ लाख ५० हजारसम्म पुग्ने गरेको छ।
दाना, मलखाद, औषधोपचार र मर्मतमा करिब तीन लाखदेखि चार लाख खर्च हुने हुँदा पाँच लाखदेखि ६ लाखसम्म शुद्ध आम्दानी हुने गर्छ। पोखरीमा उत्पादित माछा व्यापारी घरमै आएर ३५० रुपैयाँ प्रतिकिलोका दरले थोकमा खरिद गरेर लैजाने गर्दछन्। उत्पादनको अधिकांश माछा कैलालीको अत्तरियामा बिक्री हुन्छ भने केही स्थानीय बजारमै खपत हुन्छ।
आधुनिक माछापालन प्रविधि सिक्न चौधरीले मत्स्य विकास केन्द्र, गेटा (कैलाली)बाट तालिम लिएका छन्। 'माछापालन केबल पोखरीमा माछाका भुरा हालेर छाड्ने काम होइन,' उनले भने, 'यसमा पोखरी व्यवस्थापन, पानीको गुणस्तर, चारोको सन्तुलन र रोग नियन्त्रणलगायत कुराहरुको सन्तुलन मिलाउन सक्नुपर्छ।'
पढेर जागिर खानु सफलताको एकमात्र बाटो नभएको उनको भनाइ छ। उनले भने, 'पढेलेखेको मान्छेले सीप र ज्ञानको प्रयोग कृषिमा गरे देशमै बस्दै राम्रो कमाइ गर्न सक्छ, घरपरिवार र समाजले सुरूमै जागिर खान दबाब दिएका हुन्, त्यो दबावलाई बेवास्ता गर्दै कृषिलाई आफ्नो व्यवसाय र जीवनशैली बनाए।'
समाजले अहिले ‘उद्यमशील कृषक’का रूपमा सम्मान गर्न थालेकामा उनले गर्व महसुस हुने गरेको बताए। माछापालनसँगै चौधरीले पाँच बिघा जग्गामा उखुखेती पनि गरेका छन्। चौधरीको आफ्नो स्वामित्वमा पाँच बिघा जग्गा छ। त्यसमध्ये दुई बिघामा पोखरी बनाएर माछापालन छ भने दुई बिघा जग्गामा र बाँकी तीन बिघा जग्गा भाडामा लिएर २०६५ देखि उनले उखुखेती सुरू गरेका हुन्।
पाँच बिघा जग्गामा गरिएको खेतीबाट वार्षिक २० लाखको उखु बिक्री हुने गरेको छ। मजदुर, सिँचाइ, जोताइ, बिउ, मलखाद र ढुवानी खर्च कटाएर १५ लाखसम्म नाफा हुने उनले बताए। 'चिनी उद्योग खुलेपछि उखु बेच्न सहज भएको छ,' उनले भने, 'मिल नखुलेका बेला घरमै कोल्हुमा गुड उत्पादन गरेर बजार पठाउँथे।' अहिले चिनी उद्योग सञ्चालना आएपछि उखु बेच्ने झन्झट भने नभएको उनको भनाइ छ।
माछा र उखु खेतीबाट प्राप्त आम्दानीले चौधरीले बस्नका लागि गाउँमै पक्की घर निर्माण गरेका छन्। कृषिबाटै खेत जोत्नका लागि ट्रयाक्टर खरिद र कार किन्नेसम्मका सपना पूरा गरेका छन् । 'सबै लगानी कृषिबाटै सम्भव भएको हो,' उनले भने, 'म अब अरूलाई पनि कृषि पेसामा आउन प्रेरित गर्न चाहन्छु।'
उखु र माछा मात्रै नभएर चौधरीले चैते धान र बर्खे धानखेती पनि गर्छन्। हिउँदमा गहुँखेतीलाई पनि निरन्तरता दिँदै आएको उनले बताए। यसबाट पनि उनले अतिरिक्त आम्दानी लिँदै आएका छन्। जागिर पाउनु वा विदेश जानुमात्र जीवन नभएको उल्लेख गर्दै उनले सीप प्रयोग गरेर स्वदेशमै सम्भावना खोज्न सकिने बताए।