सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका १० पालिकामध्ये स्वास्थ्य क्षेत्रमा पाटन उत्कृष्ट

२०८२ कार्तिक २५, ०३:४८ खबर संवाददाता

बैतडीः बैतडीका १० ओटा स्थानीय तहमध्ये स्वास्थ्य क्षेत्रमा पाटन नगरपालिका उत्कृष्ट भएको छ।  स्वास्थ्य कार्यालय बैतडीले आयोजना गरेको बार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य क्षेत्रका कार्यक्रम सम्पादनमा पाटन नगरपालिका उत्कृष्ट भएको घोषणा गरिएको हो । यस्तै दशरथचन्द नगरपालिका दोश्रो र सुर्नया गाउँपालिका तेश्रो भएको छ । 

स्थानीय तहहरुले गत आर्थिक बर्षमा स्वास्थ्य क्षेत्रमा सम्पादन गरेका कामहरुको आधारमा उत्कृष्ट पालिका छनौट गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए ।  सामाजिक विकास मन्त्रालयले तय गरेका सूचक, समन्वय र सहकार्य तथा स्वास्थ्य क्षेत्रमा नवीनतम् अभ्यास गरेका पालिकाहरुलाई उत्कृष्ट पालिकाको रुपमा छनौट गरिएको हो । 

पालिकाहरुले स्वास्थ्य कार्यक्रमको लक्ष्य प्राप्ति र सेवा उपयोग दर, समयमै सही तथ्यांक प्रविष्ट गरेको, अनुगमनको समयमा सुधारात्मक कार्यान्वयन देखिएको, नवीन पहल र सिर्जनात्मक अभ्यास गरेको, तालिममा सिकेका सीपहरुको प्रयोग गरेको लगायतका सूचकहरुको आधारमा उत्कृष्ट पालिका छनौट गरिएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत रितेन्द्र बडूले बताए । 

उत्कृष्ट पालिकाहरुलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको छ । यस्तै बार्षिक समीक्षा गोष्ठीमा अन्य बाँकी सातओटा पालिकाहरुलाई समेत सम्मान गरिएको छ ।  स्वास्थ्य कार्यालयले गरेको सम्मानले स्वास्थ्य क्षेत्रमा काम गर्न थप प्रेरणा मिलेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । 

दशरथचन्द नगरपालिकाले समग्र दोश्रो स्थान प्राप्त गर्दा खुसी लागेको बताउँदै स्वास्थ्य शाखा प्रमुख भुवन जोशीले आगामी दिनमा थप उत्साहका साथ काम गर्ने बताए ।  यस्तै सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले सीमित श्रोत र साधनकाबीचमा पालिकाले स्वास्थ्य क्षेत्रमा काम गरिरहेको र आगामी दिन थप उत्साहका साथ काम गर्ने बताए । 
 

कमेन्ट लोड गर्नुस