गोदावरीमा बसको ठक्करपछि अवरुद्ध महाकाली राजमार्ग खुल्यो
अत्तरिया: बसको ठक्करपछि अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सुचारु गरिएको छ ।
मृतकका आफन्तसंग कानून बमोजिम क्षतिपुर्ति दिने सहमतिपश्चात अवरुद्ध बाटो सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बुधबार बिहान कैलालीको गोदावरी नगरपालिका–२ तेघरीस्थित आर्मी ब्यारेक गेट नजिक दिपायलबाट धनगढी आउँदै गरेको ना ५ ख ५२५ नम्बरको यात्रुबसले बाटो क्रस गर्दै गरेकी एक वृद्धालाई ठक्कर दिएपछि राजमार्ग केहीबेर अवरुद्ध भएको थियो ।
ठक्करबाट अन्दाजी ८० वर्षीया दिलमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले केहीबेर सडक अवरुद्ध गरे पनि अहिले सडक खुला भइसकेको ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।