सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका एक सय ५१ स्वास्थ्य चौकीको निर्माण अलपत्र

२०७६ साउन १९, ०६:५८ रोशन भट्ट

एक वडा एक स्वास्थ्य चौकी कार्यक्रम अन्तरगत सुदूरपश्चिममा निर्माण हुने भनिएका भवनको काम अलपत्र परेको छ। मन्त्रालयले ढिलो गरि बजेट पठाउँदा र स्थानीय तहले गरेको वेवास्ता कारण भवन निर्माणको कार्य अलपत्र परेको हो। सुदूरपश्चिममा पहिलो चरणमा उक्त कार्यक्रम अन्तरगत एक सय ५१ वटा स्वस्थ्य चौकी निर्माण गर्नुपर्ने हो। सुरुवात देखिनै कुन निकाय मार्फत भवन निर्माण गर्ने विषयको अन्योलताका कारण ढिलो गरि केही स्थानमा काम सुरु भएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य महाशाखाका उप–सचिव लीलाराज पौडेलले यो बर्ष धेरै स्थानीय तहले बजेट खर्च गर्न नसकेको बताए। ‘ढिलो गरि स्थानीय तहलाई बजेटको अख्तियारी गयो,’ उनले भने, ‘पहिलो किस्ता स्वरुप ४० प्रतिशत बजेट दिएपनि धेरैले खर्च गर्न सकेका छैनन्, हामीले स्थानीय तहलाई प्रगती मागेका छौ।’ उनका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी बझङमा ४२ वटा नया स्वास्थ्य चौकी निर्माण हुने कार्यक्रम रहेको छ भने कैलालीमा २८, कञ्चनपुरमा ७, डडेल्धुरामा ३, डोटीमा १०, अछाममा १६, बाजुरामा ३९, बैतडीमा २ र दार्चुलामा ४ वटा नयाँ स्वास्थ्य चौकी निर्माण हुने छन्। 

सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य चौकी निर्माण गर्नको लागि पहिलो किस्ता स्वरुप ४० प्रतिशत बजेट अर्थात ६५ करोड ८२ लाख ५६ हजार बजेट स्थानीय तहमा पठाईएको छ। स्वास्थ्य संस्थाहरुको सुदृढीकरण एवम स्तर वृद्धि गरी एक वडा एक स्वास्थ्य चौकी एक स्थानीय तह, एक अस्पतालका लागि नीतिगत र संरचनागत रुपमा काम गर्ने बताए संगै सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा एक सय ५१ वटा नयाँ स्वास्थ्य चौकी निर्माण गर्ने कार्यक्रम थियो। गाउँपालिका महासंघ सुदूरपश्चिमका अध्यक्ष तथा डोटीको जोरायल गाउपालिकाका अध्यक्ष दुर्गा दत्त ओझाले भने उक्त कार्यक्रमका विषयमा ढिलो गरि जानकारी भएको बताए। 

नगरपालिका महासंघ सुदूरपश्चिमका अध्यक्ष तथा बैतडीको पाटन नगरपालिकाका अध्यक्ष केशव चन्दले पनि संघीय सरकारले नै योजना कार्यान्वयन गर्न वेवास्ता गरेको बताए। सुदूरपश्चिममा एक सय ५१ ओटा मध्ये २९ वटा प्रसुती केन्द्र सहितका स्वास्थ्य चौकी निर्माण हुने छन् भने एक सय २२ वटा सामान्य प्रकारका स्वास्थ्य चौकी निर्माण हुने छन्। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस