सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिपालको बसाइमा चिसोको चिन्ता

२०८२ कार्तिक ११, ०२:३९ खबर संवाददाता

बाजुरा: बाजुराको उच्च हिमाली क्षेत्रमा चिसो बढेसँगै हिमाली गाउँपालिका–१ बिच्छ्या र वडा नम्बर ५ रुगिनका बाढीपहिरोपीडितहरू चिन्तित बनेका छन्। गत साउन २८ गते राति साढे छ बजे बिच्छ्याखोलामा आएको बाढीले ४१ घरपरिवार विस्थापित भएपछि अहिले उनीहरू त्रिपालको भरमा बसिरहेका छन्। गर्मी समयमा पनि चिसो हुने यो ठाउँमा हिउँदमा कसरी त्रिपालमा बास बस्ने भन्ने चिन्ताले पीडितहरू त्रस्त भएका छन्।

हिमाली गाउँपालिका–१ बिच्छ्याका सब्बले थापाका अनुसार यहाँ हिउँद महिनामा अत्यधिक चिसो हुन्छ। “बर्खाको समयमा अलि चिसो कम हुन्थ्यो, त्यतिबेला त जसोतसो गरेर त्रिपालमै गुजारा गरेर बस्यौँ, तर अब चिसो बढ्न सुरु भयो, यो चिसोमा कसरी बस्ने भन्ने निकै चिन्ता लागेको छ,” उनले बताए। थापाले स्थानीय सरकारले खाद्यान्न, लुगाकपडालगायतका राहत सामग्री सहयोग गरेको बताए पनि प्रदेश र संघीय सरकारसँग घरबासको व्यवस्था गरिदिन माग गरेका छन्।

बाढीपहिरोले हिमाली गाउँपालिका–१ बिच्छ्यामा आठ घर बगाएको र नौ घर पूर्ण रूपमा जोखिममा परेको छ। त्यस्तै वडा नम्बर ५ कवाडीमा १६ घर बगाएको र ३२ घरमा पूर्ण रूपमा क्षति पुगेको छ।

हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार स्थानीय सरकारले आफ्नो क्षमताअनुसार सहयोग गरेको छ। “हामीसँग जति सहयोग गर्ने क्षमता थियो, त्यो सहयोग गरेका छौँ। अहिले यहाँका स्थानीयलाई चाहिएको भनेको घरबास हो। तर घरबासका लागि धेरै ठुलो रकम आवश्यक छ, त्यसका लागि प्रदेश र संघीय सरकारसँग माग गरेका छौँ,” उनले बताए।

मल्लका अनुसार दुई÷चार परिवार मात्र भएको भए केही गर्न सहज हुने थियो, तर यहाँ पूरै गाउँ विस्थापित भएकाले ठुलो रकम नहुँदा घरबासको व्यवस्था गर्न कठिनाइ भएको छ।

यस्तै, पीडित परिवारका लागि घरबासको व्यवस्था गर्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर गृह मन्त्रालयमा पत्रचार गरिएको प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले जानकारी दिएका छन्।
 

कमेन्ट लोड गर्नुस