धनगढी उप–महानगरपालिकाले घोषणा गरेको राहत हावाहुरीको ५८ दिन सम्म वितरण भएन
धनगढी उप–महानगरपालिकाले आफैले घोषणा गरेको राहत, हावाहुरीको ५८ दिन हुँदा पनि वितरण गर्न सकेको छैन्। गत जेठ २३ गते कैलाली–कञ्चनपुरमा हावाहुरीले क्षती गरेको नौँ दिन पछि ३१ गते धनगढी उप–महानगरपालिकाको २३ औँ कार्यपालिका बैंठकले क्षती पुगेका घर, परिवारलाई नगद राहत दिने निर्णय गरेको थियो। उप–महानगरपालिकाले पूर्ण क्षती भएका घर धनीलाई छ हजार, मध्यम क्षती भएकालाई तीन हजार, पशुपक्षीमा क्षती भएका परिवारलाई तीन हजार र ब्यावसायीक खेतीको क्षतीलाई तीन हजार नगद राहत दिने निर्णय गरेको थियो।
तर राहत वितरण त परै जावस उक्त रकम अहिले सम्म कोषमा पनि जम्मा भएको छैन्। उक्त निर्णय अनुसार उप–महानगरपालिकाले घरमा क्षती पुगेकाहरुलाई मात्रै झण्डै ८० लाख राहत वितरण गर्नुपर्ने देखिएको छ भने अन्य क्षतीलाई जोड्दा करोडौँ रकम उप–महानगरपालिको तर्फबाट कोषमा जम्मा हुनुपर्ने हो।
धनगढी उप–महानगरपालिका स्तरीय प्रकोप व्यवस्थापन कोषमा अहिले एक करोड १७ लाख ५१ हजार नौँ सय ४४ रुपैँया छ। त्यस्मा उप–महानगरपालिकाको रकम भने एक रुपैयाँ पनि छैन्। उप–महानगरपालिकाका जनप्रतिनिधिको एक दिनको तलव ३६ हजार ४१, कर्मचारीको एक दिनको तलव ४३ हजार एक सय २२, विभिन्न संघसस्थाबाट प्राप्त भएको नौँ लाख बढि रकम उक्त कोषमा जम्मा भएको छ।
प्रदेश सरकारले दिएको एक करोड २७ लाख ६५ हजारमामा ४५ लाख पेश्की दिएर अहिले वितरण भइरहेको उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताए। ‘राहत वितरण गर्दा धेरै स्थानमा अहिले विवाद आईरहेको छ,’ उनले भने, ‘अव कोषमा भएको रकमबाटै व्यवस्थापन गर्नुपर्ने देखिएको छ।’ उप–महानगरपालिकामा तीन घरमा पूर्ण र दुई हजार पाँच सय ४७ घरमा आशिंक क्षती भएको विवरण संकलन गरिएको छ।