सुदूर नेपाललाई विश्वसँग जोड्दै

जापानको पहिलो महिला प्रधानमन्त्री बनिन ताकाइची

२०८२ कार्तिक ४, ०२:३३ खबर संवाददाता

काठमाण्डौं : जापानले इतिहासमै पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ। सानाए ताकाइची जापानको प्रधानमन्त्री बनेकी हुन्। सत्तारूढ लिबरल डेमोक्रेटिम पार्टीको नेता चुनिएकी ताकाइची मंगलबार संसदको तल्लो सदनबाट प्रधानमन्त्रीमा अनुमोदन भएकी हुन्।

६४ वर्षीया ताकाइचीले संसदको तल्लो सदनका चार सय ६५ सदस्यमध्ये दुई सय ३७ मत प्राप्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बहुमतका लागि दुई सय ३३ मत आवश्यक रहेकोमा त्योभन्दा बढी मत पाएपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो।

ताकाइचीले मंगलबार साँझ नै प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको समाचारमा जनाइएको छ। दुईपटक दलको नेताको निर्वाचन हारेकी ताकाइची गत भदौमा एलडीपीको नेता चयन भएकी थिइन्।

बेलायतकी पूर्वप्रधानमन्त्री मारग्रेट थ्याचरकी प्रशंसक ताकाइची जापानमा ‘आइरन लेडी’ का रुपमा चर्चित छिन्।
 

कमेन्ट लोड गर्नुस