धनगढीमा राहत वितरणको विवाद: छानविन समिति गठन
वास्तविक हावाहुरी पीडितले राहत नपाएको आरोपपछि धनगढी उप–महानगरपालिकाले छानबिन समिति गठन गरेको छ। उप–महानगरपालिकाको वडा नम्बर १२ जुगेडाका वास्तविक पीडितले राहत नपाएको र गैर पीडितले राहत पाएको आरोप लगाएपछि आज भएको छलफलपछि छानविन समिति गठन गरिएको हो। उप–महानगरपालिकाले वडा नम्बर १२ का अध्यक्ष गणेशराज जोशीको संयोजकत्वमा छानबिन समित गठन गरिएको हो।
अध्यक्ष संयोजक र आन्दोलनमा रहेको संर्घष समितिबाट सदस्य रहेने गरि छानबिन समिति गठन गरिएको उप–महानगरपालिकाको राहत वितरण समितिका संयोजक प्रेम विकले जानकारी दिए। समितिले वास्तविक पीडित र गैर पीडितको बारेमा छानबिन गर्ने जनाएको छ। यस्तै आज भएको छलफलमा कुटपिटबाट घाईते महिलाहरुको उपचार नगरपालिकाले गर्ने र महिलामाथी कुटपिट गर्नेहरुलाई कारवाही गर्ने पनि सहमती भएको छ। बुधवार मात्रै राहतको माग गर्दै धनगढी आउने क्रममा जुगेडाका महिलाहरुमाथि कुटपिट भएको थियो।