कैलालीमा द्वन्द्वकालमा कब्जा भएको जग्गा विक्री हुँदै, विप्लव समूह फेरी कब्जा गर्दै
कैलालीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले जग्गा कब्जा गर्न थालेपछि स्थानीयमा त्रास फैलिएको छ। विप्लव समूहले विगत केही साता यता जग्गा कब्जा गर्न थालेपछि स्थानीयमा त्रास फैलिएको हो। तत्कालीन माओवादीले द्धन्द्धकालमा कब्जा गरेको जग्गा अहिले सोही पार्टीका नेताहरुले विक्रीवितरण गर्न थालेको र वैज्ञानिक भुमिसुधार लागु गर्नुपर्ने माग सहित विप्लव समूहले कैलालीमा जग्गा कब्जा गरिरहेको जनाएको छ।
केही दिन अगाडी टीकापुरकी व्यापारी रेखा कठायतको घरजग्गा कब्जा गरेको विप्लव नेतृत्वको नेकपाका कायकर्ताले अहिले कैलालीको बर्दगोरीया गाउँपालिकामा विभिन्न व्यक्तिको झण्डै ४४ विगाह जग्गा कब्जामा लिएका छन्। सो जग्गा यसअघि तत्कालिन माओवादी द्वन्द्वका क्रममा समेत कब्जामा लिईएको थियो।
द्धन्द्धकालमा माओवादीले कब्जा गरेको जग्गा अहिले आएर सत्तामा पुगेका नेता, दलाल र भूमाफिया मिलेर बिक्री वितरण गरिरहेको आरोप लगाउँदै विप्लव समूहले जग्गा कब्जा गर्दै आएको छ। विप्लव नेतृत्वको नेकपाका कैलाली जिल्ला ईन्चार्ज विवेक कुमालले सत्तामा पुगेका नेताहरुकै संग्लनतामा जग्गा विक्री भईरहेको भन्दै आफ्नो पार्टीले जग्गा कब्जाको नीति ल्याएको बताए। ‘जग्गा कब्जाको मात्रै नीति छैन्, द्धन्द्धकालमा कब्जा गरिएको जग्गा बिक्री वितरणमा संलग्नलाई भौतिक रुपमा कारवाही गर्ने नीति पनि छ,’ उनले भने, ‘अहिले द्धन्द्धकालमा कब्जा गर्दै विक्री वितरण भएको हरैया शिविरमा पनि विप्लव समूहले निगरानी राखिरहेको छ।’
पार्टीको संगठन जनपरिषदले वैज्ञानिक भुमिसुधारको नीति लागु गर्नुपर्ने माग पनि अघी सारेको उनको भनाई छ। यता विप्लव समूहले जग्गा कब्जा गर्दै आएपनि सो बारेमा स्थानीय प्रशासन भने बेखवर छ। कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्ष दक्ष कुमार बस्नेतले सो बारेमा हल्ला मात्रै सुनेको तर सम्वन्धित स्थानमा पुग्दा केही पनि नभेटिएको बताए।