सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चार वर्षदेखि पुष्पखेती गर्दै अछामका रोशन साउँद

२०८२ असोज २७, ०३:५९ खबर संवाददाता

धनगढीः कृषि विषय पढेका अछामका रोशन साउँद र दशरथ साउँद चार वर्षदेखि धनगढी-९ मा व्यावसायिक पुष्पखेतीमा जमेका छन्।

१० वर्षदेखि कृषि पेशामा लागेका उनीहरूले पाँच वर्षदेखि कपिलवस्तुका भास्कर पङ्गेनीसँग मिलेर व्यावसायिक कृषि गर्न थालेका हुन्। धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटानमा दुई बिघा जग्गा लिजमा लिएर व्यावसायिक पुष्पखेती सुरू गरेका साउँद दाजुभाइले यो वर्ष सयपत्रीका एघार हजार बिरुवा रोपेका छन्। अछामको मेल्लेख गाउँपालिका घर भएका साउँद दाजुभाइले कपिलवस्तुका भास्कर पङ्गेनीसँग मिलेर धनगढीसहित चार स्थानमा व्यावसायिक कृषि गरिरहेका छन्।

साउँद दाजुभाइले ‘१०८ दि डिभाइन एग्रो फार्म’ स्थापना गरेर धनगढी–९ बङ्ग्राकटानमा दुई बिघा जग्गा लिजमा लिएर गरेको पुष्पखेतीबाट राम्रै आम्दानी भइरहेको बताएका छन्। यो वर्ष तिहारमा मात्रै साउँदले १६ हजार माला बिक्री गर्ने लक्ष्य लिएको बताएका छन्।

यो वर्ष साउँद दाजुभाइले दुई बिघा दुई कट्टा क्षेत्रफलमा सयपत्री खेती गरेका छन्। अहिले फूलेको बिरुवाले मंसिरसम्म उत्पादन दिने र त्यसपछि स्ट्रबेरी खेती गर्ने योजना साउँदले बनाएका छन्। दसैँभन्दा दुई हप्ता अगाडिबाट बिक्री हुन थालेको फूलको अहिले धमाधम बुकिङ आइरहेको उनले बताए।

बारीमा भेटिएक रोशन साउँदले यो वर्ष कर्मा ५५५, कर्मा ९९९ र कर्मा ३३३ सयपत्री खेती गरेको छन्।

कमेन्ट लोड गर्नुस