कैलाली उद्योग वाणिज्य संघको मतगणना: अध्यक्षमा ओझा अगाडि
धनगढी: कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा एक हजार पाँच सय मतको गणना हुँदा अध्यक्ष पदका उम्मेदवार पुष्कर राज ओझा अगाडि रहेका छन्। ओझाले ५९६ मत प्राप्त गरेका छन् भने अध्यक्षका अर्का उम्मेदवार रुपेश स्वाँरले ५४३ मत ल्याएका छन्।
वरिष्ठ उपाध्यक्ष पदमा केशवराज जोशी अगाडि छन्। जोशीले ५८७ मत ल्याउँदा ओमबहादुर बिष्ट र सुरेन्द्र राठीले क्रमशः ३५४ र १५६ मत पाएका छन्।
उद्योग उपाध्यक्षमा लक्ष्मणराज पन्तले ६३६ मत ल्याउँदा अर्का उम्मेदवार वासुदेव भट्टको ४२६ मत आएको छ। एसोसिएट उपाध्यक्षतर्फ अनिल कुमारले ३४९ र कमल पन्तले ३४६ मत ल्याएका छन् भने मनोज अग्रवालले ३३८ मत पाएका छन्।
वाणिज्य उपाध्यक्षमा गगनराज केसीले ६११ मत प्राप्त गरेका छन् भने राधिकाकुमारी चौधरीले ४४४ ल्याएकी छन्। वस्तुगत उपाध्यक्षतर्फ भिमराज ओझाले ५९१ र सिद्धराज पनेरूले ४८१ मत पाएका छन्। महासचिवमा दिनेश लम्सालले ५७७ मत पाउँदा अर्का उम्मेदवार सुरेश पाण्डेयको ५०३ मत आएको छ।
कोषाध्यक्षमा तिलकबहादुर बोहराले ६९९ र सुरेशबहादुर कडायतले ३५३ मत ल्याएका छन्। सचिवमा प्रकाशकुमार चन्दले ५६२ मत पाएका छन् भने कृष्णाकुमारी बिष्टले ३२८ र कोपिला कुँवरले दुई सय मत पाएकी छन्।
संघको नयाँ कार्यसमितिका लागि शनिवार मतदान भएको हो। १९४० मत खसेकोमा यो समाचार तयार गर्दासम्म एक हजार पाँच सय मत गणना गरिएको निर्वाचन समितिले जनाएको छ।