सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्लास्टिकको माला बिक्रिवितरण र प्रयोगमा प्रतिबन्ध

फाइल फोटो
फाइल फोटो
२०८२ असोज २५, ११:३३ नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिकाले वातावरण संरक्षण र जनस्वास्थ्यलाई ध्यानमा राख्दै उपमहानगर क्षेत्रभित्र प्लास्टिकको माला उत्पादन, बिक्री–वितरण, आयात तथा भण्डारणमा पूर्ण प्रतिबन्ध लगाएको छ।

उपमहानगरपालिकाको कानुन निर्माण गरेरै प्लास्टिकबाट निर्मित झोला, कप, गिलास, प्लेट, चक्कु, चम्चा, काटा,प्लास्टिकमा बेरिएका बुके, प्लास्टिकको माला र सजावटका सामग्री, सुर्ती र खुटखाको उत्पादन, बिक्री, वितरण र भण्डारणमा प्रतिबन्ध लगाएको हो।

तिहरको समयमा प्लास्टिकको माला र सजावटका सामग्रीको प्रयोग बढ्ने भएकाले प्रतिबन्धित प्लास्टिकका फूल र माला प्रयोग नगर्न उपमहानगरपालिकाले आग्रह गरेको छ।

उपमहानगरपालिकाले धनगढी उपमहानगरपालिकाको प्लास्टिकजन्य वस्तु प्रतिबन्ध सम्बन्धी ऐन, २०७९ बमोजिम प्लास्टिक जन्य वस्तुको उत्पादन, आयात, भण्डारण र बिक्रीवितरणमा रोक लगाएको छ। सो ऐनअनुसार नगर क्षेत्रलाई सफा, हरित र प्रदूषण मुक्त बनाउन प्लास्टिक प्रयोगमा नियन्त्रण गर्नुपर्ने आवश्यकता महसुस गरिएको उपमहानगरले जनाएको छ।

प्राकृतिक फूल उत्पादनमा आत्मनिर्भर रहेकाले प्लास्टिकजन्य फूल र माला प्रयोग नगर्न उपमहानपालिकाले सर्वसाधारणलाई आग्रह गरेको हो। प्रतिबन्धित प्लास्टिकको फूल र मालाको उत्पादन र कारोबार गर्नेलाई कानुनी कारबाही गरिने उपमहानरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाले स्थानीय व्यवसायी, उपभोक्ता र नागरिक सबैको सहकार्यको अपेक्षा गर्दै प्लास्टिकको सट्टा जैविक फूलको प्रयोग गर्न आग्रह गरेको छ।

धनगढी उपमहानगरपालिकाले वातावरणीय स्वच्छता र सार्वजनिक स्वास्थ्य संरक्षणका लागि यो कदमलाई स्थायी समाधानका रूपमा अघि सारेको जनाएको छ।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस