सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा ४५ मिलिमिटर वर्षा, हिउँदे बालीका लागि वरदान

तस्बिर : पुष्कर भण्डारी
तस्बिर : पुष्कर भण्डारी । फोटो स्रोत ।
२०८२ असोज २२, ०२:५२ खबर संवाददाता

डडेलधुरा : देशभरबाट मनसुन बाहिरिएपनि डडेलधुरा सदरमुकामलगायत आसपासका क्षेत्रमा वर्षा भएको छ।

सोमवार दिउँसोदेखि छिटपुट वर्षा सुरु भए पनि राति ठुलो वर्षा भएको थियो । यो वर्षा किसानका लागि वरदान साबित भएको छ। यो वर्षाका कारण हिउँदे बाली लगाउनका लागि खनजोत गर्न सजिलो भएको हो।

मङ्गलवार पनि वर्षा भएको जल तथा मौसम विज्ञान विभाग हावापानी फिल्ड कार्यालय डडेलधुराका प्रमुख श्याम सुनारले बताए। डडेलधुरा जिल्ला सदरमुकामको खलङ्गामा ४५ मिलिमिटर वर्षा भएको छ। निरन्तर जस्तै वर्षा भइरहेकाले शुक्रवार दिउँसोसम्म १५० मिलिमिटरसम्म वर्षा हुन सक्ने उनले बताए। हाल पश्चिमी वायुको प्रभावले वर्षा भइरहेको र शुक्रवार मध्याह्न १२ बजेसम्म यसको प्रभाव रहन सक्ने उनले बताएका छन्।

सुदूरपश्चिम प्रदेशको बाजुरा र दार्चुला जिल्लाबाट पश्चिमी वायुको प्रभाव बाहिरिने अनुमान गरिएको छ। असोज महिनाको पहिलो सातादेखि नै ठुलो वर्षा नभएको डडेलधुरामा बर्खे खेतीपाती भित्र्याउन सहज भएको थियो।

कृषि ज्ञान केन्द्र डडेलधुराका प्रमुख नरेन्द्र पनेरुका अनुसार आलु लगाउने समयमा ठुलो वर्षा भए कुहिने समस्या हुन्छ। पहिलो सातापछि वर्षा नहुँदा आलु लगाउनुका साथै धानबाली भित्र्याउन किसानलाई सहज भएको उनले बताए। तर सबै किसानले आलु लगाई नसकेको उनले बताएका छन्।

डडेलधुरामा असोज महिनाभरि र कात्तिक पहिलो सातासम्म आलु खेती लगाइने गरिन्छ । अहिले भइरहेको वर्षाले आलु लगाउन केही ढिलाइ हुने उनले बताए। किसानले पूर्ण रूपमा धानबाली पनि भित्र्याई नसकेको उनले बताएका छन्। अहिले भइरहेको वर्षाले पाकेको धानलगायत दलहन बाली भित्र्याउन र आलु खेती गर्न ढिलाइ भएपछि हिउँदे बाली लगाउन राहत भएको उनले बताए।

 

कमेन्ट लोड गर्नुस