धनगढीमा पहिलो पटक ब्ल्याक स्टोन क्लासिक पावरलिफ्टिङ प्रतियोगिता हुँदै
धनगढीः धनगढीमा ब्ल्याक स्टोन क्लासिक पावरलिफ्टिङ प्रतियोगिता २०२५ आयोजना हुने भएको छ। ब्ल्याक स्टोन फिटनेस धनगढीको आयोजनामा असोज १० गते शुक्रवार प्रतियोगिता आयोजना हुने छ।
सुदूरपश्चिम प्रदेशमै पहिलो पटक हुन लागेको यो प्रतियोगितामा २१ वर्षमुनि देखि ४० वर्ष माथि सम्मका पुरुष र महिला खेलाडीले सहभागिता जनाउनेछन्। सुदूरपश्चिमका सबैभन्दा बलिया खेलाडी बिच प्रतिस्पर्धा हुने भएकाले यसलाई विशेष रुचिपूर्वक हेरिने अपेक्षा गरिएको छ।
ब्ल्याक स्टोन फिटनेस धनगढीका सह–संस्थापक तथा प्रमुख प्रशिक्षक ज्ञानेन्द्रराज पाण्डेका अनुसार लामो समय देखि जिम गर्दै आएका युवायुवतीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिलाउन प्रतियोगिताको आयोजना गरिएको हो।
“यो केवल प्रतियोगिता मात्र होइन, आफ्नो स्वास्थ्यप्रति सचेत रहँदै मेहनत गरेका खेलाडीहरूको आत्मविश्वास र सीप प्रदर्शन गर्ने थलो पनि हो” उनले भने।
आयोजकले खेल प्रेमीहरूलाई असोज १० गते हुने ब्ल्याक स्टोन क्लासिक पावरलिफ्टिङ प्रतियोगिता अवलोकन गर्न र सहभागी खेलाडीलाई हौसला दिन आह्वान गरेका छन्।
सह–संस्थापक पाण्डे हालै सम्पन्न एसियन पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ मा प्रथम स्थान हासिल गर्दै नेपाललाई स्वर्ण पदक दिलाएका खेलाडी समेत हुन्। यसैले धनगढीमा हुन लागेको ब्ल्याक स्टोन क्लासिक पावरलिफ्टिङ प्रतियोगिता थप महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।