खाली भएका बाजुराका गाउँबस्ती दसैँमा भरिँदै
बाजुरा: हिउँद र बर्खाको समय भोको पेट पाल्नकै लागि रोजगारी गर्न भारतमा तथा विभिन्न सहरमा गएका बाजुराका स्थानीयवासी यति बेला भने धमाधम गाउँ फर्किंन थालेका छन् । नेपालीहरुको महान चाँडपर्व यसै असोज १६ गते रहेकाले त्यसै दसैँ तिहार मनाउँनकै लागि उनीहरु यती बेला धमाधम घर फर्किन थालेका हुन्।
नेपाल–भारत सीमानाका तथा राजधानी काठमाडौँ र धनगढीबाट धमाधम घर फर्किन थालेपछि बर्खाको समयमा खाली हुँदै गएका गाउँबस्ती यती बेला भने भरिन थालेका छन् । गाउँमा रहेको बेरोजगारीले प्रदेशीन बाध्य हुने गरेको भए पनि दसैँ तिहारलगायतका नेपाली चाँडपर्वमा आफु सधैँ घर फर्किने गरेको त्रिवेणी नगरपालिका ६ प्रकाश बिकले बताए।
उनले भने,“गाउँमै बसेर केही गर्ने त मन थियो। तर के गर्ने यहाँ म केही काम पाउँदैन। खेती किसान गरौँ भने पनि आफुसँग जमिन पनि छ । त्यो जमिनमा सिँचाइ सुविधा छैन।” हिउँदमको महिना पैसा कमाउन भारतमा गएको थिए। अहिले बल्ल गाउँमा पुगेको छु। यती बेला सबै घरपरिवारसँगै बसेर दसैँ तिहार मनाउँछु। त्यसपछि फेरि उतै जाने योजना रहेको विकले बताए।
गाउँमा रोजगारीको अवसर नमिल्दा बाजुराका अधिकांश स्थानीयले बर्खाको खेतीपाती सकाएर दसैँ खर्चको जोहो गर्न सधै भारतमा जाने गर्छन् । कात्तिक–मङ्सिरमा गहुँ र असारमा धान कोदो खेती लगाउने समयमा गाउँ आउने र त्यसपछि फेरि कामको खोजीमा जाने गर्छन् ।
यहाँका अधिकांश स्थानीय माघमा माघी र चैत–वैशाखमा वीसु र यति बेला भने दसैँतिहार मनाउन गाउँ फर्किने गर्दछन् । दसैँतिहार मनाउँछौँ त्यसपछि फेरि कामको खोजीमा भारतमा गइहाल्छौँ, उनले भने,“यहाँका स्थानीयको यो बाध्यता अहिले नभई पहिलेका पुस्तादेखि नै चलिआएको छ।” हुन त गाउँमै रोजगारीका धेरै सम्भावना छन् तर कृषिप्रति युवाको आकर्षण घटेको छ ।
गाउँबस्ती खाली हुने समस्या पहिलेको भन्दा अहिले झनै बढ्दै गएको छ । जिल्लाका अधिकांश बस्ती पहिरोले तहसनहस पारेकाले अहिले ती बस्तीका अधिकांश स्थानीय गाउँबस्ती छोडेर धमाधम भारतमा गएर पेट पाल्न थालेपछि अहिले यहाँका गाउँ बस्ती रित्तिँदै गएका हुन् । जिल्लाका बुढीगङ्गा, त्रिवेणी, खप्तड, छेडेदह, गौमुल, बडीमालिका हिमाली, स्वामिकात्तिक, जगनाथ, बुढीनन्दा नगरपालिकालगायतका गाउँबस्तीका स्थानीय आर्थिक अभावकै कारण प्रदेशिन बाध्य भएका छन् ।
गत साउनमा जसरी भारतमा जाने गरेका थिए। त्यसै सङ्ख्यामा अहिले जिल्ला बाहिर गएका यहाँका स्थानीय यती बेला गाउँ फर्किने गरेका छन्। पहिलो तलदेखि बस खाली आउने गर्थे भने अहिले माथिदेखि खाली र तलदेखि भरिभराउ गरेर आउने गरेको बाम्का बजार टिकट काउन्टरका इन्चार्ज जनक बुढाले बताए।