सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपिनसहित ४८ बन्धकको ‘बिदाइ तस्बिर’ सार्वजनिक

२०८२ असोज ५, ०८:०० खबर संवाददाता

काठमाडौँ : विपिन जोशीसहित ४८ जना बन्धकको सामूहिक तस्बिर शनिवार सार्वजनिक भएको छ। प्यालेस्टिनी विद्रोही लडाकु हमासले ‘बिदाइ तस्बिर’ भन्दै आफ्नो नियन्त्रणमा रहेकाहरुको तस्विर सार्वजनिक गरेको हो। तर, यसलाई इजरायलले ‘प्रपोगान्डा’का रूपमा लिएको छ।

अलजजिरा अनलाइनका अनुसार हमासको ‘कसाम ब्रिगेड्स’ले सार्वजनिक गरेको संकलित तस्बिरमा जीवित र मृत सबै बन्धकको अनुहार देखाइएको छ । प्रत्येकलाई १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका कप्तान ‘रोन अराड’ को नाम दिँदै फरक–फरक नम्बर दिइएको छ।

तस्बिरमा मृत र जीवित छुट्याइएको छैन। विपिनसहित ४८ जना ७ अक्टोबर २०२३ देखि हमासको नियन्त्रणमा छन्। ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि सम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले अलुमिम किबुजबाट बन्धक बनाएको थियो।

हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थी पनि मारिएका थिए। हमासले २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो। पछिल्लो दुई वर्षमा भएको पटक–पटकको युद्धविराममा बन्धक र प्यालेस्टिनी कैदी साटिएको थियो। आठ बन्धकलाई इजरायली सैनिकले जीवितै उद्धार गरेका थिए। बाँकी ४८ जना विपिनसहित छन्। २०१४ मा मारिएका इजरायली सेनाको शव पनि हमासकै नियन्त्रणमा छ।

इजरायलले गाजा क्षेत्रमा सैन्य आक्रमण तीव्र बनाइरहेका बेला ‘बन्धकको जीवन जोखिममा रहेको’ भन्दै हमासले ती तस्बिर सार्वजनिक गरेको हो। ठाउँ–ठाउँमा बन्धकलाई छरेर राखिएको जनाउँदै हमासले इजरायलको आक्रमणबाट बन्धकको जीवन खतरामा परेको र इजरायली बमले केही बन्धकको ज्यानसमेत गइसकेको दाबी गरेको छ।

इजरायलले आठ महिनाभित्र गाजा क्षेत्रलाई आफ्नो नियन्त्रणमा राख्ने भन्दै हवाई तथा स्थलगत सैन्य कारबाही तीव्र बनाएको छ। इजरायली सैनिकका अनुसार पछिल्लो २४ घण्टामा सयभन्दा बढी क्षेत्रमा भएको आक्रमणमा ३४ जना प्यालेस्टिनीको मृत्यु भएको छ।

 

कमेन्ट लोड गर्नुस