सुदूर नेपाललाई विश्वसँग जोड्दै

यातायात कार्यालय धनगढीको सेवा बिहिवारदेखि सुरु हुँदै

२०८२ असोज १, ०४:३१ कमल सावद

धनगढी : जेन–जी पुस्ताको आन्दोलनका क्रममा यातायात कार्यालय, धनगढीका फर्निचर र उपकरणहरू मात्र एक करोड ५० लाख बढीका जले।

यातायात कार्यालयका भवनहरूमा भएको क्षतिको पूर्ण वितरण तयार भएको छैन। यातायात कार्यालयका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधनहरू पनि ध्वस्त भएका छन्। कुर्सी, टेबुल, दराज, कम्प्युटर, सवारी चालक अनुमति पत्र, इम्बोस नम्बर प्लेट, ब्लू बुक, ढड्डा तथा फाइलहरू नष्ट भएका छन्। एक हप्तादेखि बन्द रहेको यातायातको सेवा बिहिवारदेखि भने सुचारु गर्ने तयारी गरिएको छ। यातायात कार्यालय, धनगढीका प्रमुख भुवन जोशीले सक्ने सेवा बिहिवारबाट सुचारु गर्ने बताए। उनले भने, कम्प्युटरहरू कुनै पनि बाँकी छैनन। टुक्रा–टाक्री मात्र छन्। पूर्ण एक पनि छैनन्। भोलिबाट सुवा सुरु हुन्छ। कर, नयाँ दर्ता, बचेका लाइसेन्स वितरण र पटकेको काम सुरु हुन्छ। अभिलेख भएका नामसारी पनि गर्छाै।’

सुदूरपश्चिम प्रदेश सरकार मातहतको यातायात कार्यालयले बिहिवारदेखि कर सङ्कलन, नयाँ सारी दर्ता, कार्यालयमा बाँकी रहेका सवारी चालक अनुमति पत्र वितरण, यातायात सञ्चालनका लागि पटके पास वितरण लगायतको काम सुरु गर्दै छ। अभिलेख भएका सवारीहरू नामसारीको कामसमेत हुने छ। तर, यातायात कार्यालयमा गरिएको आगजनीका कारण फाइलहरू जलेकाले सवारीको नामसारीमा समस्यासमेत देखिएको छ। जोशीले भने, ‘लाइसेन्सको समस्या छ। हाम्रो प्रणाली जलेको छ। फर्म भर्ने, परीक्षा लिने कुनै पनि काम हुँदैन। हामीसँग भएको अभिलेखको काम सुरु हुन्छ।’ यातायात विभागमासमेत आगो लगाइएकाले नयाँ सवारी चालक अनुमति पत्रको काम भने सुरु नहुने भएको छ। नयाँ सवारी चालक अनुमति पत्रको प्रक्रियाको प्रणाली नै ध्वस्त भएको हो।

धनगढी जेन–जी रेगुलेसन, यातायात कार्यालयका कर्मचारी, यातायात कार्यालय क्षेत्रका व्यवसायीहरू लगायतले कार्यालयमा सरसफाइ गरेका छन्। बुधवार पनि यातायात कार्यालयका कर्मचारीहरूले सरसफाइ र विद्युतीकरण र नेट्रोकिङ्गको काम गरेका छन्। यातायात कार्यालयको सेवा असोज २ गतेबाट सुरु गर्न उनीहरूले बिदाको दिनमा पनि काम गरेका हुन्। यातायात कार्यालय, धनगढीका प्रमुख जोशीले सेवाग्राही जरिबाना पर्ने भएकाले करको काम सुरु गर्ने बताए। उनले भने, ‘वाइरिङ्ग र नेट्रोकिङ्गको काम हुँदैछ। बैँकसँग पनि कुरा भएको छ। लाइसेन्सको प्रणालीको काम भने हुँदैन।’

प्रदर्शनकारीहरूले परीक्षा हल, प्राविधिक, कार्यालय प्रमुख र अधिकृतको शाखा ध्वस्त पारेका छन्। उनीहरूले सवारी चालक अनुमति पत्रका लागि निर्माण गरिएको नयाँ भवन पनि ध्वस्त पारेका छन्। जेनेरेटरमा समेत प्रदर्शनकारीहरूले आगो हालेका छन्। कार्यालयमा आएका सवारी चालक अनुमति पत्रहरू पनि जलेका छन्।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस