पुरानै लयमा फर्किँदै अत्तरिया बजार
अत्तरियाः जेन जी को आन्दोलन पछि सुनसान बनेको अत्तरिया बजार पुरानै लयमा फर्किएको छ। भदौ २३ गते देखि सुरु भएको जेन जीको आन्दोलनका क्रममा भदौ २४ गते ठुलो भौतिक क्षति पुगेपछि लगाइएको कफ्र्यु र निषेधाज्ञा सँगै अत्तरिया बजार सुनसान बनेको थियो। तीन दिन लागेको कफ्र्यु र निषेधाज्ञाका कारण सुनसान बनेको बजार शनिवार देखि पुरानै लयमा फर्किएको हो।
कफ्र्यु र निषेधाज्ञा जारी भएपछि नेपाली सेना सडकमा उत्रिएको थियो। सेनाले आवतजावत मै रोक लगाउँदा बजार सुनसान भएको थियो। बजारमा पसलहरू बन्द भएका थिए भने यातायातका साधन पनि ठप्प थिए।
शुक्रवार राती नयाँ सरकार गठन भएसँगै शनिवार बिहान देखि कफ्र्यु खुलेपछि बजारमा चहलपहल बढेको छ। अत्तरियाबाट लामो तथा छोटो दुरीका सवारी साधन पनि सञ्चालनमा आएका छन्। शनिवार साँझ अत्तरिया बसपार्क भएर पहाडी जिल्ला र काठमाण्डौं जाने यात्रु गन्तव्य तर्फ लागेका थिए। बजारका पसल खुलेपछि किनमेल गर्नेको पनि भिड लागेको छ ।
भदौ २३ गते जेन जी को आन्दोलन सुरु भएको दिन काठमाण्डौं लगायतका क्षेत्रमा १९ जनाको मृत्यु भएपनि अत्तरियामा सामान्य विरोध –याली मात्रै निकालिएको थियो। तर, भदौ २४ गते भने देशभर आन्दोलनले उग्ररुप लिएको थियो। सो क्रममा अत्तरियामा पनि करिब एक दर्जन कार्यालय, निजी घरमा आगजनी र तोडफोड गरिएको थियो। एकै दिनमा ठुलो जनधनको क्षत्रि भएपछि मानिसहरुमा त्रासको वातावरण सृजना भएको थियो। उक्त घटनापछि सेना सडकमा आएर कफ्र्युलगाएपछि अत्तरिया बजार पनि सुनसान बनेको थियो ।
शनिवार भने जिल्ला प्रशासन कार्यालय कैलाली जिल्लाभर जारी गरेको कफ्र्यु हटेको सूचना जारी गरेको थियो। प्रशासनले अनिश्चित कालका लागि रातीको समयमा जारी गरेको कफ्र्यु हटेको जनाएको थियो भने प्रशासनले यसअघि जिल्लाभर जारी गरेको निषेधाज्ञामा पनि परिवर्तन गरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालद्वारा जारी आदेशमा निषेधाज्ञा जारी हुने निश्चित स्थान तोकिएको छ। जसअनुसार संघ, प्रदेश तथा स्थानीय तहका विभिन्न कार्यालय भवन, सुरक्षा निकायका कार्यालयहरू तथा परिसरहरू र अत्यावश्यक वस्तु, सेवा आपूर्तिका स्थलहरू, मठ मन्दिरहरू तथा मुख्य बजार केन्द्रहरू हरेका छन् ।
निषेधाज्ञा जारी गरिएको स्थानमा कुनै प्रकारको हुलदङ्गा, अशान्ति हुने गरी साना हतियार घरेलु हतियार लाठी जस्ता सामाग्रीहरू लिई विरोध र –याली सभा तथा जुलुसमा सहभागी हुन नपाउने सर्त तोकिएको छ। यस्तै कुनै पनि व्यक्तिको घर, राजनैतिक दलका पार्टी कार्यालयहरूलाई क्षति वा असर पुग्ने प्रकृतिका आन्दोलन वा गतिविधि गर्न नपाउने, आम सर्वसाधारणको आवात जावतलाई अवरोध नगर्ने र जुलुस तथा सभामा कलिला बालबालिकाहरूको प्रयोग नगर्ने नगराउने सर्त जारी निषेधाज्ञामा राखिएको छ ।