रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीबाट अलग, नयाँ दल खोल्ने घोषणा
धनगढीः नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सो पार्टीबाट आफू अलग भएको घोषणा गरेका छन्।
व्यक्तिगत अहङ्कार र स्वेच्छालाई जित्न नसकेको भन्दै उनले नागरिक उन्मुक्ति पार्टीबाट आज अलग भएको घोषणा सामाजिक सञ्जालमार्फत गरेका हुन्। “मैले नागरिक उन्मुक्ति पार्टीको गीत, विधान लेखेँ । मैले नै नागरिक उन्मुक्ति पार्टीको विचार स्थापना गरेको हो”, चौधरीले भने, “तर व्यक्तिगत अहङ्कार र स्वेच्छालाई जित्न सकेन ।”
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र नेता दामोदर पण्डितसँग आफ्नो कुनै पनि दुश्मनी नरहेको जिकिर गर्दै उनले पार्टीमा रहेका फटाहाहरूको कारण व्यक्तिगत रूपमा अल्मलिनुभन्दा बाटो बद्लेको बताएका छन्। नागरिक उन्मुक्ति पार्टीभित्र पछिल्ला दिनमा भएको आन्तरिक विवादलाई आफूले सम्झन पनि नचाहेको उनले उल्लेख गरेका छन्। चौधरीले भने, “बरु म जेलमा हुँदा दुई घण्टा भए पनि निदाए तर, बाहिर सकेन। कयौं रात अनिदो बितेका छन्।”
आफू राजनीतिक व्यक्ति रहेका कारण पार्टी बिना बस्न नसुहाउने भन्दै उनले आजको दिनबाट नयाँ दल र सङ्गठन निर्माणमा जुट्ने बताए। चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल बनाउने र त्यसको चुनाव चिन्ह पहिचानकै रहने उल्लेख गरेका छन्। आफूलाई राजनीति गर्ने अधिकार रहेको भन्दै उनले आफ्नो आन्दोलन र भावनालाई बुझ्नेहरू आफूसँगै रहने बताए। उनले भने,“मलाई ठग होइन, मेरो पार्टी र पहिचानको आन्दोलन बुझ्ने कार्यकर्ता चाहिएको छ।”
टीकापुर घटनामा दोषी ठहर भई रेशम जेलमा रहेको बेला २०७८ मा नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो । स्थापनाको छोटो समयमै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले अकल्पनीय जित हात पारेको थियो।