सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटाका दुई सामुदायिक वन क्षेत्रको अतिक्रमण हटाइयो

२०८२ भदौ २८, ०२:१९ खबर संवाददाता

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–८ स्थित दुई वटा सामुदायिक वनमा गरिएको अतिक्रमण आज हटाइएको छ।

संगठित रुपमा करिब १५० बढी व्यक्तिले अमरजित सामुदायिक वन र प्रगति महिला सामुदायिक वनक्षेत्रमा अस्थायी झुपडी बनाएर बसेका थिए। नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, वन कर्मचारी र सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रुपमा आज उनीहरुलाई हटाएको हो।

सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज बिष्टका अनुसार तीन दिन दिनअघि देखि उनीहरुले झुपडी बनाउन थालेका थिए। “असहज परिस्थितिको फाइदा उठाउँदै संगठित रूपमा वन क्षेत्र अतिक्रमण गर्न आएका व्यक्तिहरूलाई समयमै हटाएर सामुदायिक वन जोगाएका छौँ,” उनले भने।

स्थायी संरचना निर्माण गर्नुअघि नै हटाउन सफल भएको उनले बताए। अतिक्रमण हटाउने प्रयास दुई पटक असफल भएको थियो। उल्टै अतिक्रमणकारीहरुले आक्रमण गरी वन सुरक्षाकर्मी चढेको गाडीमा क्षति पु–याएका थिए।

“हामीले प्रमुख जिल्ला अधिकारीसँग सुरक्षा माग गरेका थियौँ, उहाँसँगको समन्वयमा सुरक्षाकर्मी परिचालन भएपछि मात्र अतिक्रमण हटाउन सफल भयौँ,” निर्देशक बिष्टले भने।

 

कमेन्ट लोड गर्नुस