कञ्चनपुरमा २५ सरकारी कार्यालयमा आगजनी र तोडफोड
धनगढी: मङ्गलवार भएको प्रदर्शनमा कञ्चनपुरको जिल्लाका २५ वटा सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको विवरण सार्वजनिक भएको छ।
कञ्चनपुर प्रहरीले बिहीबार आगजनी र तोडफोडमा परेका कार्यालयको सूची सार्वजनिक गरेको हो।
जेन्जी आन्दोलनमा कञ्चनपुर जिल्ला प्रशासन कार्यालयमा सामान्य आगजनी र तोडफोड भएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको गेटमा तोडफोड गरिएको छ।
आन्दोलनकारीले जिल्ला कारागारको गेट, ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती र गुलरियाको गेटमा तोडफोड गरेका छन्। यस्तै, महेन्द्रनगरमा रहेको जिल्ला सरकारी वकिलको कार्यालयमा आगजनी र तोडफोड गरिएको छ भने शुक्लाफाँटा नगरपालिकाको कार्यालयका फर्निचर जलाउनुको साथै झ्यालका सिसा फुटाइएका छन्। शुक्लाफाँटा नगरपालिकाको १, ७ र ८ मा आगजनी गरिएको छ भने वडा नम्बर ४, ५, ६, ९, १०, ११ र १२ मा तोडफोड गरिएको प्रहरीले जनाएको छ।
पुनर्वास नगरपालिकाको कार्यालयमा आगजनी र तोडफोड गरिएको छ भने कृष्णपुर नगरपालिकाको वडा नम्बर १, २, ५, ६ र ७ मा पनि आगजनी र तोडफोड गरिएको छ। यस्तै, भीमदत्त-१८ र बेलडाँडी-२ को वडा कार्यालयमा पनि तोडफोड गरिएको प्रहरीले जनाएको छ।