कैलाली कारागारका कैदीहरू सम्पर्कमा आउन थाले
धनगढी: कैलाली कारागारबाट भागेका कैदीहरू सम्पर्कमा आउन थालेका छन्। मङ्गलवार जेलबाट भागेका बन्दीहरू कारागार प्रशासनको सम्पर्कमा आउन थालेका हुन्।
जेलर चिरञ्जीवी सापकोटाले बन्दीहरू स्वयं तथा तिनका अभिभावक कारागार प्रशासनको सम्पर्कमा आउन थालेका हुन्। जेन्जी आन्दोलनको क्रममा कैलाली कारागारमा रहेका ६६७ कैदी मध्ये ६६० फरार भएको तर अहिले उनीहरू कारागार प्रशासनको सम्पर्कमा आउन थालेको जेलर सापकोटाले बताए। कैलाली कारागारमा ६६७ जना बन्दी राखिएका थिए। उनीहरू मध्ये ७ जना बाहेक सबै भागेका थिए। अहिले भने सम्पर्कमा आउन थालेका छन्, उनले भने, एक दुई दिनपछि सार्वजनिक सूचना निकालेर फरार सबै बन्दीहरूलाई कारागार बोलाउँछौं।
जेन्जी प्रदर्शनको क्रममा कैलाली कारागार प्रशासनको कार्यालयको सरसफाइ र कागजपत्रमा आगो लगाउनुको साथै तोडफोड गरिएको जेलर सापकोटाले बताए। उनले कारागार भित्र फोहरमैला गरिएकाले बन्दी गृहको अवस्था सामान्य बनाएपछि कैदीहरूलाई बोलाउने तयारी थालिएको बताए।