सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानसेनापति सिग्देलको राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी

२०८२ भदौ २४, ०७:३५ खबर संवाददाता

काठमाडौँ: देशभर जेनजी प्रदर्शन चर्किँदै गएपछि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले केही बेरमै राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

यसअघि सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले संयुक्त वक्तव्य जारी गरी प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेका थिए। त्यसलगत्तै सेनाले एकल वक्तव्य जारी गर्दै सार्वजनिक सम्पत्ति तोडफोड नगर्न अनुरोध गरेको थियो।

सोही अनुरोधपछि प्रधानसेनापतिबाट हुन लागेको सम्बोधनलाई महत्वपूर्ण मानिएको छ। सोमबार भएको सरकारी दमनपछि धेरै युवाको मृत्यु भएको र सयौँ घाइते भएका थिए। मंगलबार प्रदर्शन नेताहरूकै निवासमा आगजनीसम्म पुगेको छ। साथै सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपतिनिवास शीतलनिवासलगायतका प्रमुख प्रशासनिक संरचनामा समेत आगजनी गरिएको छ। केही व्यावसायिक प्रतिष्ठानमा पनि क्षति पुगेको छ।

स्थिति असामान्य बनेपछि राष्ट्रपति रामचन्द्र पौडेलले संयम अपनाउन आग्रह गर्दै जेनजी नेताहरूसँग वार्ताको पहल गरेका छन्। काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, धनगढीका मेयर गोपाल हमाल, डाक्टर सन्दुक रुइत, कुलमान घिसिङलगायतले समेत प्रदर्शनकारीलाई सार्वजनिक सम्पत्ति नष्ट नगरी शान्तिपूर्ण विरोध गर्न अनुरोध गरेका छन्।
बिहानै केही मन्त्रीहरूले राजीनामा दिएका थिए भने दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पद त्यागिसकेका छन्। नेतृत्व संकट बढिरहेको र प्रदर्शन अझ चर्किरहेको सन्दर्भमा प्रधानसेनापतिको सम्बोधनलाई निर्णायकको रूपमा हेरिएको छ

कमेन्ट लोड गर्नुस