सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका २५१ किसान सुरो नेपालबाट ठगिए, अदालतमा १० वटा मुद्‍दा

२०८२ भदौ २०, ०६:११ कमल सावद

धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ का पूर्णबहादुर खड्काकी २५ वर्षीय छोरी सुशीला खड्का ओझा, धनगढी उपमहानगरपालिका–९ का रामचरण चौधरीकी ५३ वर्षीय छोरी सुनिता चौधरी, गोदावरी नगरपालिका–९ का धर्मदाश चौधरीका ३४ वर्षीय छोरा दिनेश चौधरी, धनगढी उपमहानगरपालिका–१७ का रतिलाल चौधरीका ३२ वर्षीय छोरा सुरेश चौधरीसहितका ११ जनाका विरुद्ध पीडित किसानहरूले उजुरी दिएका थिए।

जिल्ला प्रहरी कार्यालय, कैलाली र इलाका प्रहरी कार्यालय सुखडमा उनीहरूले सुरो नेपालकी अध्यक्ष सुशीला खड्का ओझासहितका ११ जना विरुद्ध उजुरी दिएका हुन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता राजकुमार सिंहले २५१ जना पीडितले जाहेरी दर्ता गरेको बताए। उनले भने, ‘जिल्ला प्रहरी कार्यालय, कैलालीमा जाहेरी आएको छ। २५१ किसान पीडित छन्। चार जनालाई पक्राउ परेर, अनुसन्धान सकेर अदालतमा पेस गरेका छौ। दुई जना धरौटीमा छुटेका छन्।’

सुरो नेपालले कैलालीका २५१ किसानको तीन करोड ३८ लाख ९२ हजार पाँच सय रुपैयाँ ठगी गरेको हो। जिल्लाका किसानहरूबाट पावर टिलर र पानी मोटर अनुदानमा वितरण गर्ने भन्दै रकम सङ्कलन गरेको सुरो नेपालले ठगेको छ। सुरो नेपालबाट ठगिएका किसानहरू १० वटा समूहमा प्रहरीमा पुगेका हुन्। उनीहरूले सुरो नेपालकी अध्यक्ष सुशीला खड्का ओझासहितका ११ जनाको विरुद्ध किटानी जाहेरी दिएका थिए। पीडित किसानहरूको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय, कैलालीले अदालतमा मुद्‍दा दर्ता गरेको हो। प्रहरीमा किसानले दर्ता गरेका जाहेरी, पीडित किसानहरूले दिएको प्रमाण र प्रहरीको प्रतिवेदनसहित अदालतले कारबाही थालिएको छ।

जिल्ला कारागार, कञ्चनपुरमा पुर्पक्षका लागि थुनामा रहेकी सुरो नेपालकी अध्यक्ष सुशीला खड्का ओझा र सुनिता चौधरीलाई जिल्ला अदालत कैलालीले झिकाएको छ। उनीहरूलाई थुनामा राख्न जिल्ला अदालत, कैलालीले समेत आदेश दिएको छ। तर, दिनेश चौधरी र सुरेश चौधरी पचास÷पचास हजार धरौटीमा रिहा भएका छन्। बाँकी सात जना फरार रहेका छन्। उनीहरूको नाम जिल्ला प्रहरी कार्यालय, कैलालीले हाल गोप्य राखेको छ। उनीहरूको खोजी कार्य भइरहेको कैलाली प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता सिंहले अदालतले कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाएको बताए।

जिल्ला अदालत, कञ्चनपुरमा सुरो नेपालकी उपाध्यक्ष सुविना बुढाऐर र कोषाध्यक्ष रचना खड्का आफै उपस्थित भएकी छन्। सुरो नेपालको सञ्चालक समितिको अध्यक्षमा सुशीला खड्का ओझा, उपाध्यक्षमा सुविना बुढाऐर, सचिवमा रोहित अर्याल, कोषाध्यक्षमा रचना खड्का र सदस्यमा आकृति रावल रहेका छन्। उनीहरुले वितरण समिति, वडा कार्यालय, राजनीतिज्ञ, भलमनसा, शिक्षक, कर्मचारीमार्फत किसानहरूबाट रकम सङ्कलन गरेर ठगी गरेका हुन्।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस