सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौकीडाँडा–फल्टुडे सडक ६ वर्षदेखि अलपत्र, दबाबका लागि सडकमै वडा कार्यालय सञ्चालन गर्ने

२०८२ भदौ १९, ०३:३१ खबर संवाददाता

धनगढीः करिब ६ वर्षअघि सम्झौता भएको चौकीडाँडा–फल्टुडे सडक निर्माणको काम अलपत्र अवस्थामा पुगेको छ।

ठेकेदार कम्पनीहरूको लापरबाहीका कारण यो सडक निर्माण लामो समयदेखि अधुरो छ, जसका कारण स्थानीयहरू आवतजावतमा कठिनाइ खेपिरहेका छन्। गोदावरी नगरपालिका–३, १०, ११ र १२ का वडाध्यक्षहरूले ठेकेदारलाई दबाब दिन सडकमै वडा कार्यालय सञ्चालन गर्ने निर्णय गरेका छन्।

बुधबारदेखि चाक्लेखोलास्थित सडकमै वडाका कामकारबाही हुनेछन्। वडा नं. १२ का वडाध्यक्ष भीम बहादुर खड्काका अनुसार सडक निर्माणको जिम्मा पाएका थेगिङ र तेडी निर्माण सेवाले सम्झौता अनुसारको काम नगर्दा सडक लथालिङ्ग बनेको हो। उनले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि ठेकेदारहरू अटेरी गर्दै आएको बताए।

वडा नं. ३ का अध्यक्ष तेजराज अवस्थीले ठेकेदारले बीचमा देखावटी रूपमा काम सुरु गरे पनि फेरि भाग्ने गरेको बताए। सडक निर्माण नहुँदा स्थानीयलाई रोजगारीका अवसर गुम्नुका साथै दैनिक आवागमनमा समस्या हुँदै आएको छ। पहिलो खण्ड (२२ सय मिटर) कालिका कन्स्ट्रक्सनले २०७७ मा जिम्मा पाएको खण्डको काम सकिएको छ।

दोस्रो खण्ड (२.५ किलोमीटर) एड्भेन्चर, थेगिङ, सन्लाईट जेभिसँग २०७७ भदौमा सम्झौता, तर ६ वर्षसम्म पनि काम सम्पन्न छैन।तेस्रो खण्ड (३ किलोमीटर) तेडी निर्माण सेवाले २०७९ मा सम्झौता गरे पनि काम ठप्प।चौथो खण्ड (८ सय मिटर) संघीय सरकार मातहतमा रहेको खण्डमा निर्माण कार्य जारी छ। ३८ किमी दूरी रहेको यो सडकलाई भीमदत्त राजमार्गको विकल्पको रूपमा लिइएको थियो।

तर टुक्रे योजना, सरकारको समन्वय अभाव र ठेकेदारको लापरबाहीका कारण अहिलेसम्म ओलानीसम्म पनि कालोपत्रे सडक पुग्न सकेको छैन। वडाध्यक्षहरूले आन्दोलन थप चर्काउने चेतावनी दिँदै सम्बन्धित निकायको कार्यालय घेराउ तथा अन्य दबाबमूलक कार्यक्रम गर्ने घोषणा गरेका छन्। ठेकेदारले सडकमै आएर कामको प्रतिबद्धता नगरेसम्म आन्दोलन जारी रहने उनीहरूको भनाइ छ।

कमेन्ट लोड गर्नुस