सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगा नगरपालिका नक्सा पास नगरी भवन निर्माण गर्दै

२०७६ साउन ११, ११:०२ कमल सावद

कैलालीको गौरीगंगा नगरपालिकाले प्रचलित मापदण्डको उल्लङ्घन गर्दै भवन निर्माण गरिरहेको पाईएको छ। नगरवासीलाई घर–नक्सा पास गरेर मात्रै भवन बनाउनुपर्ने पाठ सिकाउँदै आएको नगरपालिकाले आफ्नै भवन निर्माण गर्दा भने त्यसको वेवास्ता गरेको हो। गौरीगंगा नगरपालिकाले पाँच वटा वडा कार्यालयको भवन र व्यापारिक मल नक्सा पास नगरी निर्माण गरिरहेको हो। 
घरको डिजाईन, प्रयोग हुने सामाग्री, घरको उचाई तथा घरको क्षमता लगायतमा विषयमा अध्ययन गर्नुपर्ने हुन्छ। वडा कार्यालयको भवन र व्यापारिक भवन बनाउँदा स्टीमेट समेत तयार नपारिएको आरोप पनि लागेको छ। 
गौरीगंगा नगरपालिकामा अहिले पाँच वडा कार्यालय, एक व्यापारिक मल र नगरपालिकाको कार्यालय भवन निर्माणको चरणमा छन्। पाँच वडा कार्यालय भवन निर्माणका लागि एक करोड ६५ लाख, व्यापारिक मलका लागि ५१ लाख र नगरपालिकाको कार्यालयका लागि सात करोड नगरपालिकाले विनियोजन गरेको थियो। कार्यालयको भवनको विस्तृत योजना प्रतिवेदन (डिपीआर) निर्माणको चरणमा छ। अन्य वडा कार्यालयहरु र व्यापारिक मलको निर्माणको काम अन्तिम चरणमा पुगेको छ। तर भवनहरुको नक्सा पास नगरिएको बुझिएको छ। नगरपालिकाका ईन्जिनियर तथा सूचना अधिकारी दाताराम जोशीले भवन निर्माण भएको जमिन ऐलानी भएकाले नक्सा पास नगरिएको बताए।  
प्रति वडा कार्यालयका लागि ३३ लाखका दरले विनियोजन गरिएकोमा करिव २२/२२ लाखका दरले निर्माण कम्पनीसंग सम्झौता गरिएको छ। वडा नम्बर १० को कार्यालय निर्माणको काम पूर्ण भएको छ। अन्य चार वडा कार्यालयको पनि निर्माणको काम अन्तिम चरणमा छ। वडा कार्यालयका भवन नक्सा समेत पास नगरिएकाले आवासीय घर जस्ता भएको आरोप लागेको छ। 
नागरिकले व्यक्तिगत आवासीय घर निर्माणका लागि निवेदन सहित परामर्शदाता कम्पनीले बनाएको घरको नक्सा नगरपालिकामा पेश गर्नु पर्छ। नक्सा नगरपालिकाकै ईन्जिनियरले पास गर्नुपर्ने हुन्छ। पुनःनगरपालिकाका इन्जिनियरहरुले स्थलगत अध्ययनमा पनि सडकबाट घरको दुरी, पिल्लर, बिम, घरमा प्रयोग भएका सिमेन्ट, सरिया, ढुङ्गा तथा ईट्टाको पनि अध्ययन गर्ने निर्देशिकामा उल्लेख गरिएको छ। तर निर्देशिकाको नगरपालिका आफैले उल्लङ्घन गरेको छ। गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवाले नक्सा पास नभएको स्वीकार गरेका छन्। उनले सबै कार्यालय ऐलानी जमिनमै निर्माण गरेकाले नक्सा र डिजाईन नबनाईएको भएपनि पास भने नगरिएको दावी गरे। नगरपालिकाका वडा नम्बर ३, ६, ७, १० र ११ को वडा कार्यालय भवन निर्माणको चरणमा रहेका हुन्। चौमालामा रहेको नगरपालिकाका कार्यालको उत्तरतर्फको व्यापारिक भवन पनि निर्माण हुदैछ। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस