गेटामा पूर्ण अस्पताल सेवा र शैक्षिक कार्यक्रम तुरुन्त सञ्चालन गर्न डा. गोविन्द केसीको माग
धनगढीः डाक्टर गोविन्द केसीले गेटामा तत्काल पूर्ण अस्पताल सेवा र शैक्षिक कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि उनले आजदेखि तीन दिनको सत्याग्रह सुरु गरेको घोषणा गरेका हुन्। उनले भने, “नेपाली जनताले गुणस्तरीय, निःशुल्क तथा सुलभ स्वास्थ्य सेवा पाउनु नै मेरो आन्दोलनको उद्देश्य हो। तर सरकारले स्वास्थ्य शिक्षा र सेवा दुबैलाई उपेक्षा गरेको छ।”डाक्टर केसीले चिकित्सा शिक्षा क्षेत्रलाई केही नेताहरू र माफियाको चंगुलबाट मुक्त गर्न नसकेसम्म गुणस्तर सुधार नहुने बताउँदै बारम्बार उठाउँदै आएका मुद्दा अझै सम्बोधन नभएको गुनासो गरेका छन्।
उनले निजी मेडिकल कलेजसँग गरिएको सम्झौता तत्काल रद्द गर्नुपर्ने माग राखेका छन्। उनले गेटा मेडिकल कलेजमा पूर्णरूपमा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सञ्चालन गर्न ढिलाइ हुनु जनताको स्वास्थ्य अधिकारमाथि कुठाराघात भएको बताएका छन्। “कैलालीलगायत सुदूरपश्चिमका लाखौँ नागरिक वर्षौँदेखि प्रतीक्षा गरिरहेका छन्। तर राजनीतिक स्वार्थका कारण गेटा मेडिकल कलेज अझै पूर्णरूपमा सञ्चालन हुन सकेको छैन,” डा. केसीले भने।
नेपालकै सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालय मातहतको चिकित्सा अध्ययन संस्थानलाई उदाहरण दिँदै उनले भने, “त्यहाँ शिक्षण शुल्क ३ लाख ८५ हजार मात्रै छ, तर निजी कलेजहरूले विद्यार्थीलाई ५०–६० लाखसम्म तिर्न बाध्य बनाइरहेका छन्। यो ठगी हो।”
डाक्टर केसीले तत्कालै गेटामा अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालन नगरे आगामी दिनमा आन्दोलनलाई अझ कडा बनाउने चेतावनी दिएका छन्।