सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको गड्डाचौकीबाट “स्वतन्त्रको एकता, महाकाली–मेची यात्रा” सुरु हुने

२०८२ भदौ १२, ०६:४२ खबर संवाददाता

धनगढी: कञ्चनपुरको गड्डाचौकीबाट “स्वतन्त्रको एकता, महाकाली–मेची यात्रा” सुरु हुने भएको छ। “समृद्ध राष्ट्र निर्माणका लागि सङ्कल्प अभियान” नेपालले “स्वतन्त्रको एकता, महाकाली–मेची यात्रा–२०८२” गर्ने भएको हो।

धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अभियानकर्ताहरूले भदौ १७ गते नेपाल–भारत सीमा नाका गड्डाचौकीमा हुने कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको सहभागिता रहने बताएका छन्। गड्डाचौकीबाट सुरु हुने यात्रा पूर्वको धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साङपाङ)को सहभागितामा कार्यक्रम गर्दै समापन गरिने छ। 

अभियानका संयोजक प्रेमराज भट्टले भदौ १७ गते बिहान साढे ९ बजे “स्वतन्त्रको एकता, महाकाली–मेची यात्रा–२०८२” सुरु हुने बताए। सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीका स्वतन्त्र नगर प्रमुख गोपाल हमाल कार्यक्रममा सहभागी हुने उनले बताए। उनले भने, “हाम्रो वृहत् सोच हो। जय गोदावरी अभियानका साथीहरूले सुरु गरेका छौ। देशै भरीका साथीहरूलाई समेट्ने गरेर अभियान सुरुवात गरेका छौ। १७ गतेबाट सुरु हुने यात्रा २० गते मेची पुग्छौ। २१ गते धरानमा आएर समापन हुन्छ।” धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले कार्यक्रममा सहभागी हुने तर, उद्घाटन नगर्ने बताएका छन्। उनले भने, “मैले उद्घाटन गर्ने होइन। कार्यक्रममा सहभागी मात्र हुने हो।”

 कञ्चनपुरको गड्डाचौकी, कैलालीको अत्तरिया र चिसापानी, कोहलपुर लगायतका क्षेत्रहरूमा कोण सभाको आयोजना गर्ने तयारी गरिएको छ। नागरिकहरूलाई स्वतन्त्र बनाउने र सात सय ५३ स्थानीय तहहरूमा स्वतन्त्र जनप्रतिनिधि निर्वाचित गरउने अभियानको लक्ष्य रहेको भट्टले बताएका छन्। उनले भने, “देश समृद्ध बनाउनका लागि स्वतन्त्र व्यक्तिहरू एक ठाउँमा आउनुपर्छ। पार्टीको झण्डा होइन, देशको झण्डा बोकौ। श्रम र संस्कृतिले देख जोड्छ।”

काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन)सँग सभाको आयोजनाका लागि छलफल जारी रहेको भट्टले बताएका छन्।

कमेन्ट लोड गर्नुस