वीरगञ्जमा हैजा सङ्क्रमितको सङ्ख्या १ सय १५ पुग्यो
पर्सा: पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा हैजा सङ्क्रमितको सङ्ख्या १ सय १५ पुगेको छ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साले आज बिहान ११ बजे सार्वजनिक गरेको विवरण अनुसार १ सय १५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।
हिजो बेलुका ६ बजेपछि थप १ जनामा हैजा पुष्टि भएको हो। वीरगञ्जमा गएको शुक्रवारयता झाडापखालाको उपचारका लागि ४ सय ९३ जना बिरामी अस्पताल भर्ना भएकामा उनीहरूमध्ये १ सय १५ जनामा हैजा देखिएको हो।
सङ्क्रमितमध्ये ३९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। ७६ जनाको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ। हैजा सङ्क्रमितसहित झाडापखालाका २ सय ६६ जना उपचाररत रहेका जिल्ला स्वास्थ्य कार्यालयको विबरणमा उल्लेख छ।