एमालेका पूर्व मुख्यमन्त्री र बहालवाला मन्त्रीमाथि २ लाख गाडी भाडा नतिरेको आरोप
धनगढी: सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावल र प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालमाथि सर्वसाधारणको गाडी प्रयोग गरेर भाडा नतिरेको आरोप लागेको छ।
दार्चुलाको मार्मा गाउँपालिका घर भई हाल कैलालीको गोदावरी नगरपालिका बस्दै आएका विष्णु विष्टले रावल र पालले दुई महिनासम्म स्कार्पियो गाडी प्रयोग गरे पनि भाडाबापतको दुई लाख रुपैयाँ अहिलेसम्म नदिएको आरोप लगाएका हुन्।
विष्टका अनुसार उनको से १ च १६९७ नम्बरको स्कार्पियो गाडी २०८० जेठ ९ गतेदेखि भदौ ९ गतेसम्म पूर्व मुख्यमन्त्री रावलको प्रयोगका लागि मन्त्री पालको आग्रहमा उपलब्ध गराइएको थियो। मासिक एक लाख रुपैयाँ भाडा दिने सहमतिअनुसार गाडी उपलब्ध गराए पनि दुई वर्ष बित्न लाग्दा समेत रकम नपाएको उनको गुनासो छ।
विष्टका अनुसार बैतडी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित पालले नै गाडी व्यवस्थापन गर्न आग्रह गरेका थिए। गाडी भाडामा लिने–दिने लिखित सम्झौता गरौँ भन्ने प्रस्तावसमेत मन्त्री पालले अस्वीकार गरेको उनले बताए।
उनले भने, 'मासिक एक लाख भाडा लिने हिसाबले गाडी भाडामा लिने/दिने सम्झौता भएको हो। सम्झौताको कागज बनाउने भन्दा पाल जीले त्यो पर्दैन, म छु भन्नु भयो। अहिले दुई वर्ष पूरा भएर तेस्रो वर्ष लाग्यो तर रकम पाएको छैन।'
विष्टका अनुसार दुई महिनासम्म गाडी प्रयोग गरेपछि रावल र पाल दुवैले भाडा रकमबारे चासो नदिएको आरोप छ। रकम माग्न पटक–पटक सम्पर्क गर्दा समेत बेवास्ता गरिएको उनको भनाइ छ।
'पैसाका लागि गाडी चढ्ने रावलसँग कुराकानी गर्दा उनले मैले कुनै सम्झौता गरेको छैन, म गाडी चढेको मात्रै हुँ भन्नुहुन्छ। पालजीसँग भन्दा उनले फेसबुकमा किन लेखेको भनेर असन्तुष्टि पोख्दै फोन राखे,' विष्टले बताए।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा पूर्व मुख्यमन्त्री रावलले फोन काटेका थिए भने मन्त्री पालको मोबाइल फोन स्विच अफ रहेको छ।
विष्टले एमालेका शीर्ष नेतामात्र होइन, २०७९ सालको निर्वाचनका क्रममा पार्टीका अन्य नेताहरूले समेत गाडी प्रयोग गरेर भाडा नतिरेको दाबी गरेका छन्। उनका अनुसार चुनावी अभियान र पार्टीका विभिन्न कामका लागि प्रयोग गरिएको गाडीको कुल पाँच लाख १५ हजार रुपैयाँ अझै उठ्न बाँकी छ।
उनले आफू मधुमेह र उच्च रक्तचापको नियमित औषधि सेवन गरिरहेको उल्लेख गर्दै रकम नपाउँदा आर्थिक र मानसिक रूपमा थप पीडित भएको गुनासो गरेका छन्।
अरू को–को छन् रकम तिर्न बाँकी?
विष्टका अनुसार एमाले दार्चुलाका केही स्थानीय नेताहरूले समेत गाडी प्रयोग गरेबापतको रकम हालसम्म भुक्तानी गरेका छैनन्।
उनका अनुसार लालबहादुर सुनार (अभिषेक) र सुरेश महराले संयुक्त रूपमा एक लाख १७ हजार रुपैयाँ तिर्न बाँकी छ भने अनिल ठगुन्नाबाट एक लाख १५ हजार रुपैयाँ उठ्न बाँकी छ।
यस्तै कमल विष्टले ७० हजार रुपैयाँ र २०७९ को प्रदेशसभा निर्वाचनमा दार्चुला क्षेत्र नम्बर–२ बाट एमालेका उम्मेदवार बनेका हरदेव जोशीले ८ हजार रुपैयाँ दिन बाँकी रहेको उनले बताएका छन्।
उल्लेखित व्यक्तिमध्ये लालबहादुर सुनार, सुरेश महरा र कमल विष्टले चुनावी समयमा गाडी प्रयोग गरेको स्वीकार गर्दै हालसम्म रकम व्यवस्थापन गर्न नसकिएको बताएका छन्। अनिल ठगुन्नाले भने आफू निर्माण व्यवसायी रहेको बताउँदै ठूलो रकम नभई १५–२० हजार रुपैयाँ मात्रै तिर्न बाँकी रहेको दाबी गरेका छन्।