सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका भूमिहीनहरूलाई लालपुर्जा वितरणको तयारी

२०८२ भदौ १०, ०६:५९ कमल सावद

धनगढी : कैलालीका भूमिहीनहरूलाई लालपुर्जा वितरणको तयारी गरिएको छ। कैलालीका १३ वटा स्थानीय तहहरूका फाइल जिल्ला भूमि आयोगमा आउने क्रम सुरु भएको हो।

कैलालीको धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका, गोदावरी नगरपालिका लगायतले भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीहरूको फाइल पठाएका छन्।

स्थानीय तहहरूले पठाएको फाइलहरूलाई आयोगले अध्ययनको काम गर्दै छ। जिल्ला आयोगले फाइल अध्ययनको काम पूरा गरेपछि दाबी विरोधका लागि सूचना सार्वजनिक गर्ने छ। एक महिना भित्रमा भूमि आयोग, कैलाली लालपुर्जा वितरणको चरणमा पुग्ने दाबी गरिएको छ।

धनगढीले आयोगमा फाइल पठायो

धनगढी उपमहानगरपालिकाले सोमवार मात्र भूमि आयोगमा फाइल पठाएको हो। धनगढी उपमहानगरपालिकाले वडा नम्बर ३, ५, ६, ८, ९, १०, ११, १२, १३ र १४ का फाइलहरू भूमि आयोगमा पठाएको हो। धनगढी उपमहानगरपालिका–१५, १६ र १७ नम्बर वडाका पहिला नै फाइलहरू आयोगमा गएका थिए। धनगढीमा भूमि आयोगले काम पूरा गरेपछि जग्गाधनी पुर्जा वितरणको काम सुरु हुने छ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले जग्गाधनी पुर्जा वितरणको जिम्मेवारी भूमि आयोगको भएको बताएका छन्। उनले धनगढी उपमहानगरपालिकाले निर्णय गरेर आयोगमा वडाहरूबाट आएका फाइल पठाएको बताए। हमालले भने, ‘हाम्रो वडा कार्यालयहरूले सिफारिसको आधारमा, वडामा छलफल गरेर सिफारिसको आधारमा कार्यपालिकाको बैठकमा निर्णय गरेर पठाएका छौ। तहगत क्षेत्र निर्धारण बाधा होइन। १५, १६ र १७ नम्बर वडाको काम एक वर्ष पहिला नै सकिएको छ। धनगढी उपमहानगरपालिकाले पुर्जा वितरण गर्ने होइन। पुर्जा वितरण गर्ने आयोगले हो। वडाबाट आएका सिफारिसहरू आयोगमा पठाउछौ। हामीले काम रोक्दैनौ। हामी आयोगलाई सहयोग गर्दै आएका छौ।’

लम्की–चुहाका १५० फाइल आयोगमा

कैलालीको लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका, गोदावरी नगरपालिका लगायतले पनि फाइलहरू आयोगमा पठाएका छन्। स्थानीय तहहरूले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थितहरूका फाइल आयोगमा पठाएको हो। तर, भूमि आयोग, कैलालीमा सबै फाइलहरू आएका छैनन्। आयोगमा स्थानीय तहहरूले पठाएका फाइलहरूको अध्ययन गर्ने, दाबी विरोध र राजस्वका लागि सूचना सार्वजनिक गर्ने तयारी गरेको छ। जिल्ला आयोगमा आएका फाइलहरू एक महिना भित्रमा सबै काम पूरा गर्ने तयारीमा आयोग रहेको छ।

भूमि आयोग, कैलालीका विज्ञ सदस्य कमल सिंह रानाले जिल्लाका स्थानीय तहहरूबाट फाइल आउने क्रम जारी रहेको बताए। उनले लम्की–चुहा नगरपालिकाले १५० फाइलहरू आयोगमा पठाएको बताए। उनले भने, ‘सबै पालिकाहरूबाट फाइलहरू आउने क्रम सुरु भएको छ। लम्की चुहाबाट १५० फाइलहरू आएका छन्। हामीले राजस्वको सूचना प्रकाशित गरेका छौ। गोदावरीको आएको छ। बर्दगोरियाबाट आएको छ। कार्यपालिकाबाट निर्णय गरेर आउने क्रम जारी रहेको छ।’

एक महिना भित्रमा लालपुर्जा

कैलालीमा एक लाख ४५ हजार पाँच सय ७२ जनाले भूमि आयोगमा निवेदन दर्ता गरेका छन्। जिल्लामा सबै भन्दा बढी एक लाख १८ हजार आठ सय १३ परिवार अव्यवस्थित बसोवासी छन्। जिल्लामा भूमिहीन सुकुम्वासी १३ हजार नौ सय १४ र सात हजार ६ सय ३१ भूमिहीन दलितहरू छन। पाँच हजार २ सय १४ जनाको अधुरो काम भएको छ। भूमि आयोगले कैलालीमा ११ करोड ६७ लाख २० हजार ६ सय १६ वर्ग मिटर क्षेत्रफल जग्गा वितरणको तयारी थालेको हो। आयोगले एक महिना भित्रमा लालपुर्जा वितरण गर्ने रानाले बताएका छन्। उनले भने, ‘जिल्ला समितिले आएका फाइलहरूको अध्ययन गर्दैछौ। दाबी विरोधको सूचना सार्वजनिक हुन्छ र राजस्वको सूचना सार्वजनिक हुन्छ। भूमिहीनहरूलाई राजस्व लाग्दैन। त्यो प्रक्रिया सकिएपछि पुर्जा वितरण हुन्छ। केही पालिकाहरूमा अहिले काम सुरु पनि भएको छ। तर, फाइल आएकाहरूमा एक महिनामा पुर्जा वितरण हुन्छ।’

भूमि आयोग, कैलालीमा आएका फाइहरू एक महिना भित्रमा अध्ययनको काम पूरा हुने दाबी गरिएको छ। एक महिना पछि पुर्जा वितरणको चरणमा जाने तयारी छ। तर, जिल्लका धेरै स्थानीय तहहरूले भूमि सम्बन्धीको काम हाल मात्र सुरु गरेका छन्।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस