इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगर्नेलाई कारबाही नहुने
धनगढीः यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे जरिवाना नलाग्ने स्पष्ट पारेको छ। साथै विभागले आफूलाई अनुकूल समयमा सवारी दर्ता गरेको कार्यालयमा गइ स्वतस् स्फुर्त ढंगले इस्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने बताएको छ।
मगंलबार विभागले एक सूचना जारी गर्दै आगामी असोज १ गतेभित्र सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे दण्डरजरिवाना लाग्ने कुरालाई निराधार भन्दै भ्रममा नपर्न आग्रह गरेको छ। ‘इस्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनमा क्रमशस् जोड्दै लैजाने निर्णय भएको तर, मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयलाई तत्काललाई कुनै किसिमको दण्डरजरिवाना नगरिने व्यहोरा स्पष्ट पारिन्छ,’ विभागका महानिर्देशक राजिव पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सरकारले सबै क्षेत्रलाई डिजिटलाइज गर्दै गएको र यातायात क्षेत्रलाई पनि क्रमशस् डिजिटलाइज गर्दै जानुपर्ने भन्दै विभागले स्वस्फुर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी सहयोग गर्न आग्रह गरेको छ। इम्बोस्ड नम्बर प्लेट जडानका लागि विभाग एवं प्रदेश कार्यालयहरूमा सेवाग्राहीको सहजताका लागि पूर्वाधार र जनशक्ति व्यवस्थापनमा लागिरहेको विभागको भनाइ छ।
यसअघि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेटलाई विभागले अनिवार्य गर्न लागेको र जडान नगरे जरिवाना तिर्नुपर्ने चर्चा थियो। इम्बोस्ड नम्बर प्लेटमा प्रयोग गरिएको अंग्रेजी लिपीबारे समेत विभागले प्रष्टिकरण दिएको छ। ठेक्का सम्झौतामा उल्लेख भएबमोजिम सर्वोच्च अदालतको संवैधानिक इजलासबाट समेत त्रुटी नदेखाइएको भन्दै विभागले त्यसलाई उचित भनेको छ।
सवारी चालक अनुमतिपत्र, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतमा समेत अंग्रेजी लिपी प्रयोग भएको विभागले स्मरण गराएको छ।