इम्बोस्ड सवारी नम्बर प्लेट देवनागरी लिपिमा राख्न प्राज्ञिक विद्यार्थी परिषद्को माग
धनगढीः देवनागरी लिपि हटाएर इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न नेपाल सरकारको उर्दीविरुद्ध प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सक्रिय भएको छ।
परिषद् देशभरका जिल्ला प्रशासन कार्यालयका प्रमुख मार्फत ज्ञापनपत्र बुझाउने अभियान अन्तर्गत कैलाली जिल्ला प्रशासन कार्यालयमा प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय सचिव प्रेम बोहोराको नेतृत्वको टोलीले जिल्ला प्रमुख कृष्णप्रसाद लम्साललाई ज्ञापनपत्र बुझाएको छ।
आइतवार देशका अधिकांश जिल्लामा ज्ञापनपत्र बुझाइसकेको विद्यार्थी परिषद्ले सोमवार पनि थप जिल्लामा ज्ञापनपत्र बुझाउने अभियान जारी राखेको राष्ट्रिय सचिव बोहराले जानकारी दिए। ज्ञापनपत्र बुझाउन प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय सचिव प्रेम बोहोरा, राष्ट्रिय सह–संगठन सचिव छितराज न्यौपाने, राष्ट्रिय सदस्य, प्रदेश पदाधिकारी र धनगढी नगरका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपाल सरकार यातायात व्यवस्था विभागले जारी गरेको निर्णय तुरुन्तै खारेज गर्दै देवनागरी लिपीमा नै इम्बोस्ड नम्बर राख्न माग गर्दै जिल्ला प्रशासन कार्यालयहरूमा ज्ञापनपत्र बुझाएको हो। यातायात व्यवस्था विभागले असोज १ गते देखि अनिवार्य रूपमा सबै सवारी साधनहरूमा अङ्ग्रेजी भाषाको रोमन लिपीमा लेखिएको इम्बोस्ड नम्बर प्लेट राखि सक्नु पर्ने र अन्यथा ट्राफिक प्रहरीले कारबाही गर्ने चेतावनी दिएको निर्णयको विरोध गर्दै प्राज्ञिक विद्यार्थी परिषद्ले देशभरका जिल्ला प्रमुख मार्फत ध्यानाकर्षण गर्न ज्ञापनपत्र बुझाइरहेको छ।
ज्ञापनपत्रमा भनिएको छ, “नेपालको राष्ट्रिय भाषालाई नेपाल सरकारले प्रयोग नगरे कस्ले गर्छ? नेपाली भाषाको सम्मान नेपालमा हुन नसके कहाँ हुन्छ? नेपालको संविधान २०७२ को धारा ७ मा देवनागरी लिपिमा लेखिएको नेपाली भाषा नेपालको सरकारको कामकाजको भाषा हुनेछ भनिएको छ।
नेपालमा भाषागत विपरीत सवारी साधनमा प्रयोगमा रहेको नेपाली भाषा र देवनागरी लिपिलाई विस्थापित गर्न २०८२ श्रावण २० गते माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकको निर्णयअनुसार सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था विभागमा २०८२ असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भनी गरिएको निर्णय राष्ट्रहित विपरीत असंवैधानिक र अव्यावहारिक भएकाले उक्त निर्णयको प्राज्ञिक विद्यार्थी परिषद् नेपाल घोर भर्त्सना गर्दछ।
विगत केही वर्ष अगाडि पनि तत्कालीन सरकारले इम्बोस्ड नम्बर प्लेटको प्रयोग गर्न खोज्दा सम्माननीय सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनमा रोक लगाएको थियो। नेपालको बजेटलाई अन्य मुलुकमा बुझाउने नेपाली भाषा र देवनागरी लिपिलाई कमजोर र धराशायी बनाउने उद्देश्य सहित देवनागरी लिपिको नम्बर प्लेट विस्थापित गर्ने नीतिले विगतमा बहस भएर रोकिएको विषयलाई पुनस् कार्यान्वयनका लागि सूचना प्रवाह गर्नुले बङ्गलादेश र अमेरिकाको संयुक्त ठेकेदार कम्पनी डेकाटुर टाइगर आइटी सँगको सम्झौता माथि नै प्रश्न चिन्ह खडा भएको छ।
साथै कमिसनको खेल र समूहगत स्वार्थ सिद्धिका लागि देशको भाषा र संविधानको मर्ममाथि नै कुठाराघात गरिरहेको स्पष्ट हुँदैछ। तसर्थ यस्तो राष्ट्रहित विपरीतको सम्झौता तुरुन्त रद्द गर्दै नेपालमा नै कम शुल्कमा र देवनागरी लिपिमा नम्बर प्लेट छाप्ने व्यवस्थालाई यथावत् राख्नका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको छ।यतिखेर देशभर इम्बोस्ड नम्बरको विषयलाई लिएर विरोध चर्किएको छ। यसको विरोधमा जाग नेपालले आन्दोलनको घोषणा गरेको छ।