ट्याक्टर दुर्घटनामा छोरा गुमाएका जाजरकोटका २ जना बझाङमा न्याय खोज्दै
बझाङः जाजरकोटका दुई जना कामदारहरूको गत असोजको २ गते बझाङमा ट्याक्टर दुर्घटना हुँदा मृत्यु भयो।
जाजरकोटको भेरी नगरपालिका–२ का संजय बुढा र लोकेन्द्र घर्तीका परिवारले पाउनु पर्ने क्रिया खर्च र क्षतिपूर्ति अझै पाएका छैनन्। क्रिया खर्च र क्षतिपूर्ति नपाएको भन्दै उनीहरूका परिवार बझाङ आएका छन्। उनीहरू न्यायको माग गर्दै बझाङ पुगेका हुन्।
ट्याक्टर दुर्घटना भएको बेला ट्याक्टर धनी र झनना–मालुमेला सडकमा काम गराउने ठेक्दार अरुणप्रसाद थपलियाबिच सहमति भएको थियो। उनीहरूको बिचमा मृतकका परिवारलाई क्रिया खर्च र क्षतिपूर्ति दिने सहमति भएको हो। उनीहरूका परिवारलाई क्षतिपूर्ति बाफत प्रति परिवार सात लाखका दरले रकम दिने भनिएको हो। तर, ११ महिनासम्म क्षतिपूर्ति नपाएको भन्दै मृतकका परिवारका सदस्यहरू बझाङ आएका छन्। संजयका बुवा कृष्ण र लोकेन्द्रका बुवा तुल्या बझाङको सदरमुकाम चैनपुर आएका हुन्। उनीहरूले प्रहरी तथा जिल्ला प्रशासन कार्यालय, बझाङ धाउदै आएका छन्। उनीहरूले जिल्ला प्रहरी कार्यालय, बझाङमा क्षतिपूर्तिको बाँकी रकम असुल उपर गरिपाउँ भन्दै निवेदन नै दिएका छन्। जिल्ला प्रहरी कार्यालय बझाङले उनीहरूले बाँकी रकम नपाएको बताएको छ।
मृतक लोकेन्द्र धर्तीका बुवा तुल्या घर्तीले १४ लाखको कागज बनेको भएपनि हालसम्म चार लाख मात्र पाएको बताए। १० लाख रुपैयाँ क्षतिपूर्ति बाफतको पाउन बाँकी रहेको उनले बताएका छन्। सडकमा काम गराउने मुख्य ठेक्दार अरुण प्रसाद थपलिया नाममा पनि पक्राउ पुर्जी जारी गरिएको छ। तर, उनी प्रहरीको नियन्त्रणमा छैनन्। तर, मृतकका बुवासहितका पाँच जना १५ दिनदेखि बझाङमा छन्।
प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले पनि मृतक परिवारले पाउनुपर्ने क्षतिपूर्तिको विषयलाई गम्भीर रूपमा लिएको बताएका छन्। सम्बन्धित व्यक्तिलाई बुझेर समाधानको प्रयास गर्ने उनले बताए।