सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा अस्पतालमा लिगामेन्ट च्यातिएको बिरामीको समेत शल्यक्रिया गरिँदै

२०८२ भदौ २, ०५:५१ नारायण अवस्थी

धनगढीः २०८० कात्तिक १ गतेबाट सञ्चालनमा आएको गेटा अस्पतालमा दैनिक डेढ सयदेखि दुई सय बिरामीको उपचार हुने गरेको छ। ६ सय शय्या क्षमताको अस्पताल भवन रहेको गेटामा ५० शय्याको अस्पताल मात्रै सञ्चालनमा छ।

संघीय सरकारले १४१ जनाको अस्थायी दरबन्दी स्वीकृत गरे पनि अस्पतालमा १०४ कर्मचारी मात्रै खटाएको छ। तीन जना जनशक्तिबाट सुरू भएको गेटा अस्पतालमा हाल ३२ जना चिकित्सक छन्। जसमध्ये २२ जना विशेषज्ञ चिकित्सक रहेको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताए। 'तीन जना जनशक्तिबाट अस्पताल सुरु भएकामा अहिले सरकारले ५० शय्याको अस्पतालका लागि १४१ दरबन्दी कायम गरेकोमा अहिले १०४ जना कार्यरत छौँ,' उनले भने, '३२ जना चिकित्सक मध्ये २२ जना विशेषज्ञ चिकित्सक कार्यरत छन्।'

लिगामेन्ट च्यातिएको शल्यक्रिया हुँदै

सरकारले गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समिति गठन गरेर ६ अर्ब लागतमा भौतिक संरचना निर्माण गरेको हो। २०८० कात्तिक १ गतेदेखि नै अस्पतालको ओपिडी सेवा सुरू भएको हो भने २०८१ माघदेखि इन्डोर सेवा सुरु गरिएको हो। २०८२ जेठ ११ गतेदेखि इमर्जेन्सी सेवा सुरु भएको गेटा अस्पतालमा ओपिडी सेवा अन्तर्गत जनरल मेडिसिन, प्रसूति, जनरल सर्जरी, नाक कान घाँटी, हाडजोर्नी, छाला रोग, दन्त रोग तथा मुटु रोगको उपचार हुने गरेको छ। गेटा अस्पतालमा बाल रोग, आँखा उपचार सेवा, फार्मेसी सेवा प्रयोगशाला सेवा, रेडियोग्राफी सेवा अन्तर्गत एक्सरे, इन्डोस्कोपी, अल्ट्रासाउन्ड हुने गरेको छ। गेटा अस्पतालमा हाडजोर्नी विशेषज्ञ चिकित्सकबाट लिगामेन्ट च्यातिएको बिरामीको समेत शल्यक्रिया हुने गरेको सूचना अधिकारी कार्कीले बताए। 'गेटा अस्पतालमा कार्यरत हाडजोर्नी रोग विशेषज्ञ चिकित्सकहरूले गुणस्तरीय र सस्तो उपचार सेवा गरिरहनु भएको छ। सुदूरपश्चिममै गेटामा मात्रै लिगामेन्टको शल्यक्रिया हुने गरेको छ,' सूचना अधिकारी कार्कीले भने।

दैनिक दुई सय बिरामीको उपचार हुँदै

गेटा अस्पतालमा स्तन क्यान्सर पत्ता लगाउने मेमोग्राफी सेवा समेत सञ्चालनमा छ। अस्पतालमा दुई जना मुटु रोग विशेषज्ञ छन् भने मानसिक रोग सेवा तथा सस्तो र गुणस्तरीय फिजियोथेरापी सेवा सञ्चालनमा छ। अस्पतालमा इमेर्जेन्सी र ओपिडीमा आएका मध्ये भर्ना गर्नुपर्ने बिरामीलाई भर्ना गरेर उपचार हुने गरेको छ। अस्पताल नर्सिङ स्टाफको अभावले प्रसूतिस सेवा विस्तारमा समस्या भएको अस्पतालले जनाएको छ। ओपिडीमा भने बिरामीको सङ्ख्या क्रमशः बढ्न थालेको छ। दैनिक डेढ सयदेखि दुई सय बिरामी ओपिडीमा आउन थालेको सूचना अधिकारी कार्कीले बताए।

गेटा अस्पतालमा गत बैशाखदेखि दैनिक १५० देखि २ सय जना बिरामी आउन थालेका हुन्। कर्मचारी आवासीय भवन र अन्य संरचना पूर्वाधार विकास समितिले अस्पताललाई हस्तान्तरण नगर्दा सेवा प्रवाह गर्न समस्या भएको अस्पतालले जनाएको छ।

 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस