कैलाली कारागर घटनाका दोषीलाई कारवाही हुन्छः गृहमन्त्री लेखक
कैलालीः गृहमन्त्री रमेश लेखकले छानविन समितिको प्रतिवेदनको आधारमा कैलाली कारागार घटनाका दोषीहरुलाई कारबाही गरिने बताएका छन्।
बुधबार सिंह दरबारमा बसेको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले साउन २२ गते कैलाली कारागारमा भएको घटनाको छानबिन गर्न गठित समितिको प्रतिवेदनको पर्खाइमा रहेको जानकारी दिएका हुन्।
संसदिय समितिलाई छानविन समितिले तोकिएको अवधीभित्र प्रतिवेदन पेश गर्ने जानकारी गराउँदै सो प्रतिवेदनका आधारमा दोषिमाथि कानूनी कारवाही सहित आवश्यक कार्य हुने पनि उनले स्पष्ट पारे।
साउन २२ गते राति भएको झडपमा एक कैदिबन्दीको मृत्यु र ४८ जना घाइते भका थिए। ति मध्ये अस्पतालले रेफर गरेका बिरामीलाई काठमाण्डौँ लगिएको छ। दुई जनाको ट्रमा सेन्टरमा र एक जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। चार जनालाई उपचारपछि कारागार पठाईएको छ भने बाँकी ४१ जना सेति प्रादेशिक अस्पताल धनगढीमा उपचाररत छन्। मृतक वन्दीको शव कानूनी प्रक्रिया पुरा गरि परिवारलाई बुझाईएको छ।
कैलाली कारागारमा हाल ब्लक ए र ब्लक बी मा गरि ६४३ जना पुरुष र एक ब्लकमा ४७ जना महिला वन्दी छन्। घटनाको रात दुई ब्लक छुट्ट्याउने पर्खाल तोडफोड गरि कैदिबन्दीहरुले ब्लक बी मा पुगेर त्यहाँका कैदीहरुलाई कुटपिट गरेको विवरणमा उल्लेख छ।
द्धन्द्धमा संलग्न रहेका १७ जना नेतृत्वकर्तालाई अन्यत्र स्थानान्तरण गरिएको छ। कारागारभित्र अवैध सामान छ/छैन पत्ता लगाउन दुई पटक खानतलासी गरिएको र प्रमुख जिल्ला अधिकारीद्धारा कारागार निरिक्षण गरि शान्ति सुरक्षा कायम गर्न बन्दीलाई सम्झाईएको गृहमन्त्रीले जानकारी दिए। उनका अनुसार अहिले कारागारको अवस्था सामान्य छ र सुरक्षाकर्मीको पर्याप्त उपस्थिति सुनिश्चित गरिएको छ।
बन्दीका परिवारसंग भेट गराई उनिहरुको अवस्थाबारे जानकारी गराईएको छ। छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि दोषीमाथि कानूनी कारवाही हुने उनले बताए।