सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट दुई फरार प्रतिवादी पक्राउ

२०८३ जेठ २१, ०१:०५ खबर संवाददाता

महेन्द्रनगर: कञ्चनपुर कारागारबाट फरार भएका दुई जना प्रतिवादीलाई प्रहरीले पुनः पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले लामो खोजी अभियानपछि उनीहरूलाई बुधबार पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार मिति २०८२ साल भदौ २४ गते कञ्चनपुर कारागारबाट भागेका उनीहरू फरार अवस्थामा रहेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिरेन्द्र सिंह थापा का अनुसार पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दाका सजाय भुक्तान गरिरहेका मदन चौधरी र लागुऔषध (खैरो हिरोइन) मुद्दाका अर्जुन खड्का रहेका छन्।

प्रहरीका अनुसार मदन चौधरी कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, बाणी निवासी हुन्। उनी जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए।

त्यस्तै, अर्जुन खड्का धनगढी उपमहानगरपालिका–१३, राजपुर निवासी हुन्। उनी लागुऔषध (खैरो हिरोइन) मुद्दामा ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय भुक्तान गरिरहेका प्रतिवादी रहेको प्रहरीले जनाएको छ।

कारागारबाट फरार भएपछि उनीहरूको खोजीका लागि प्रहरीले विशेष अभियान सञ्चालन गरेको थियो। पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस