सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनकारी जनप्रतिनिधी, जो आफ्नो तलब भत्ता सामाजिक कार्यमा लगाउँछन्

२०७६ साउन ७, ०८:५८ जनक विष्ट

डडेल्धुराको पर्शुराम नगरपालिकाका मेयर भीमबहादुर साउँदले निर्वाचित भएको दुई वर्ष सम्म  नियम अनुसार आफूले पाउने तलब, इन्धन खर्च, घर भाडा, दैनिक भ्रमण भत्ता, गाडी सुविधा तथा बैठक भत्ता वापतको रकम लिएका छैनन्। साउँदले  नियमानुसार पाउने सबै सेवा सुविधा सिधै कोषमा जाने गरी मेयर कोष स्थापना गरेका छन्।

मेयर कोषमा जम्मा हुने रकम नगरपालिका क्षेत्रमा रहेका विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक, आर्थिक रूपमा विपन्न वर्गका बिरामी, विभिन्न रोगले ग्रसित बिरामी र अन्य सामाजिक काममा खर्च गर्दै आएका छन्। निर्माण व्यवसायी समेत रहेका साउँद आम्दानीको स्रोत भएकै कारण नियमानुसार सेवा सुविधा वापत पाउने रकम सामाजिक कार्यमा खर्च गर्दै आएका छन् भने राजनीति पेशा नभएर समाज सेवा भएका कारण जनताले तिरेको कर जनताकै काममा खर्चीदै आएको बताउँछन्।'

साँउद मात्र होईनन् कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १ का अध्यक्ष आशिष कुँवर भुन्टुले पनि नियमानुसार पाउने सेवा सुविधा लिने गरेका छैनन्। कुँवरले तलब भत्ता वापत पाउने रकम वडा भित्रका बृद्धबृद्धा, असहाय र अपाङगता भएका व्यक्तिलाई वितरण गर्दै आएका छन्। ईटा व्यवसायी समेत रहेका कुँवर राजनीति पेशा नभएर समाज सेवा भएको बताउँछन्। उनले सर्वसाधारणकै करबाट आएको रकमबाट राज्यले सेवा सुविधा दिदै आएकाले सो रकम असहाय र बृद्धबृद्धालाई सहयोग गर्दै आएको जनाए।

 

डडेल्धुरा र कञ्चनपुरमा मात्र नभई कैलालीमा पनि केही मनकारी जनप्रतिनिधीले सेवा सुविधा वापतको रकम सामाजिक कार्यमा खर्च गर्दै आएका छन्। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ का वडा सदस्य टेक बहादुर कु्ँवरले तलब भत्ता वापत प्राप्त हुने रकम स्थानीय अमर माध्यमिक विद्यालयलाई प्रदान गर्दै आएका छन्। यस्तै गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष शर्मानन्द भट्टले पनि तलब भत्ता वापतको रकम असहाय र बृद्धबृद्धालाई सहयोगार्थ वितरण गर्छन्।

स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधीले यसअघि प्रदेश सरकारले आफूहरुको सेवासुविधा निकै कम तोकेको भन्दै बढाउन माग गर्दै सांकेतिक आन्दोलन नै गरेका थिए भने प्रदेशका मुख्यमन्त्रीलाई सेवासुविधा बढाउन माग गर्दै ज्ञापनपत्र नै बुझाएका थिए। अर्कोतीर २० वर्षदेखि जनप्रतिनिधी विहीन भएका स्थानीय तहमा जनप्रतिनिधी निर्वाचित भएर आएपछि भ्रष्टाचार र आर्थिक अनियमितता बढेको आरोप लाग्दै आएको छ। अर्थशास्त्री शिवहरी मुडभरीले राजनीति समाज सेवा भएपनि धेरैले पेशा बनाएको बताए।'

उनले यस्तो बेला राज्यले निर्धारण गरेको सेवासुविधा पनि सामाजिक कार्यमै खर्च गर्दै आएका जनप्रतिनिधीबाट अन्यले प्रेरणा लिनुपर्ने बताए। । छ। राजनीति पेशा नभएर समाज सेवा गर्ने माध्यम भएपनि धेरैले यसलाई दैनिकी चलाउने माध्यम बनाएका छन्। राज्यले पनि नेतृत्व तहमा बस्ने राजनीतिज्ञबाट भ्रष्टाचार, आर्थिक अनियमितता नहोस भन्ने उद्देश्यले नै सेवा सुविधा निर्धारण गरेको छ।

तर जनप्रतिनिधीहरु भने सेवा सुविधा मात्र नभएर छिट्टै आर्थिक रुपमा सम्पन्न बन्नकै लागि भ्रष्टाचार र आर्थिक अनियमिततामा लिप्त हुदै आएको आरोप लाग्दै आएको छ। अर्कोतीर आम्दानीको स्रोत नै नभएका व्यक्तिहरु ठुलो रकम खर्च गरी जनप्रतिनिधी भएकै कारण उनीहरुको ध्यान सेवा भन्दा पनि रकम असुल्नमै केन्द्रीत भएको जानकारहरु बताउँदै आएका छन्।   

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस