लगानी तथा विकास सम्मेलन सफल बनाउन सबै लाग्नुपर्नेमा मुख्यमन्त्री शाहको जोड
कैलालीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लगानी तथा विकास सम्मेलन सफल बनाउन सबै लाग्नुपर्ने बताएका छन्।
बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८२, नीति तथा कानुन अध्ययन तथा सिफारिस उपसमितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले प्रदेशमा लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताए। मुख्यमन्त्री शाहले लगानीकर्तामा विश्वासको वातावरण सिर्जना प्रदेश सरकार गम्भीर रहेको र यसमा सम्बद्ध सरोकार भएका सबैको सहयोगका लागि आग्रह गरे।
उनले सुदूरपश्चिम प्रदेश सरकार यतिबेला आगामी असोज १ र २ गते आयोजना गर्न लागिएको लगानी तथा विकास सम्मेलनको तयारीमा जुटेकाले अत्यावश्यकबाहेक अन्य बिदामा नबस्न कर्मचारीलाई निर्देशन दिए। “यसमा प्रमुख सचिव डा कमलप्रसाद पोख्रेलले मातहतका निकायमा परिपत्र गरिहाल्नुस्।
काम गर्ने क्रममा विभिन्न कानुनी जटिलता आउन सक्छन्, त्यसैले प्रदेश कानुन सचिव डा वीरेन्द्रकुमार मिश्रले तत्तत् निकायमा समन्वय गरी एक हप्ताभित्र कानुनी समस्या पहिचान गर्नुहोला”, उनले भने। मुख्यमन्त्री शाहले लगानी तथा विकास सम्मेलन सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक र पूर्वाधार विकासका लागि एक कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे।
यसैगरी, मुख्यमन्त्री शाहसहितको टोलीले आज कोशी प्रदेश सरकारका प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम गरेको छ। ‘भर्चुअल’ माध्यमबाट भएको छलफलमा लगानी सम्मेलनबारे अनुभव आदानप्रदान एंव नीति तथा कानुनसम्बन्धीबारे अन्तरक्रिया भएको थियो। कोशी प्रदेशले कोशी प्रदेश लगानी सम्मेलन २०८२, वैशाख १८ र १९ गते सम्पन्न गरिसकेको छ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह, विषयगत मन्त्रालयका मन्त्री, प्रमुख सचिव, विषयगत मन्त्रालयका सचिव, सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनका समिति तथा उपसमितिका संयोजक तथा सदस्यहरु र कोशी प्रदेशबाट कोशी प्रदेश सरकारका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा मोहन सुवेदी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव राजु गुरागाईं र कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा सरोज कोइरालालगायतले अनुभव आदानप्रदान गर्नुभएको जनाइएको छ।