सुदूरपश्चिम सरकारको बजेट असारमा मात्रै नौ अर्ब १० करोड खर्च
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा असारमामात्रै ३० प्रतिशत बढी बजेट खर्च गरेको छ।
योजना कार्यान्वयन चरणको अन्तिमसम्म थोरै बजेट खर्चेको प्रदेश सरकारले असारमामात्रै नौ अर्ब १० करोड रुपियाँ खर्च गरेको हो।
चालु आर्थिक वर्षमा प्रदेश सरकारले कुल २२ अर्ब २८ करोड (७०.५० प्रतिशत) बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ। जसमा पुँजीगत खर्च १२ अर्ब ४७ करोड (६६.५० प्रतिशत), चालु खर्च नौ अर्ब ८० करोड (७६.८१ प्रतिशत) रहेको प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीले बताए।
कुल ३१ अर्ब ५३ करोड ६६ लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले गत जेठ मसान्तसम्म १३ अर्ब १८ करोड रुपियाँ बजेट खर्चेको थियो। असार २५ गतेमात्रै एकैदिन दुई अर्बभन्दा बढी रकम भुक्तानी भएको जोशीले बताएका छन्। प्रदेश सरकारले ढिलो गरेर बजेट पारित हुनु र लेखा समूहका कर्मचारीको आन्दोलनका कारण बजेट खर्च असारमा भएको तर्क गर्ने गरेको छ।