सुदूर नेपाललाई विश्वसँग जोड्दै

यू–१६ सुदूरपश्चिम छनोटः कैलाली फाइनलमा, उपाधि भिडन्त डडेल्धुरासँग

२०८२ जेठ १४, ०७:३६ खबर संवाददाता

बैतडीः एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनोटमा कैलालीले फाइनलमा स्थान सुरक्षित गरेको छ।

मंगलवार सम्पन्न समूह ‘बी’ को लिग चरणको आफ्नो अन्तिम खेलमा कञ्चनपुरलाई चार विकेटले हराउँदै कैलाली अपराजित रहेर फाइनलमा प्रवेश गरेको हो। कञ्चनपुरले दिएको १०५ रनको लक्ष्य कैलालीले २० ओभरमा छ विकेटको क्षतिमा भेट्टायो। जसमा अविरल विकले सर्वाधिक ३८ र धीरज देउवाले १८ रनको योगदान गरे। कञ्चनपुरका रितेश विष्ट र जगदीश विष्टले २÷२ विकेट हात पारे। 

यसअघि पहिला ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १०४ रन जोड्यो। उसका आयुश चन्दले सर्वाधिक २५ रन बनाए। कैलालीका रोशन रावलले तीन विकेट लिए। उनी प्लेयर अफ द म्याचसमेत चुनिएका स्कोरर नुरेन अन्सारीले जानकारी दिए। 

कैलालीले अब उपाधिका लागि बुधबार समूह ‘ए’ को विजेता डडेल्धुरासँग खेल्नेछ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा जेठ ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल क्रिकेट सङ्घमा आबद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहेको थियो। 

छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले बताए। एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि यही महिनामा राष्ट्रिय प्रतियोगिता गर्दैछ। 
 

कमेन्ट लोड गर्नुस