कञ्चनपुरमा लागूऔषध र किर्ते मुद्दामा फरार ५ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषध र किर्ते मुद्दामा फरार ५ जना पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसला अन्तर्गत कञ्चनपुरमा विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय गरेपछि फरार रहेका पाँच जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा लागूऔषध (खैरो हिरोईन) मुद्दामा २ महिना कैद सजाय र ५ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने ३९ वर्षीय योगे भण्डारी, २ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुरको लालझाडी गाउँपालिका–५ बस्ने २१ वर्षीय प्रकाश महरा, १ महिना कैद र १० हजार जरिवाना तोकिएको भीमदत्त नगरपालिका–१० बस्ने २० वर्षीय दिपक राज जोशी पक्राउ परेका छन्।
यस्तै लागूऔषध (चरेश) मुद्दामा ८ महिना कैद सजाय र १० हजार जरिवाना तोकिएको भीमदत्त नगरपालिका–६ ऐठपुर बस्ने ७१ वर्षीय प्रमानन्द भट्ट र लिखित सम्बन्धी कसुर (किर्ते) मुद्दामा १ महिना कैद सजाय र ५ हजार जरिवाना तोकिएको दोधारा चाँदनी नगरपालिका बस्ने रमेश बस्नेत पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पाँचै जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।