धनगढीमा आफ्नाको जग्गा जोगाउन सडकको चौडाइ घटाएको भन्दै उजुरी
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकामा आफ्नाको जग्गा जोगाउन सडकको चौडाइ घटाएको भन्दै उजुरी परेको छ।
धनगढी उप–महानगरपालिका–४ मा निर्माणाधीन चार सडकहरूको चौडाइ घटाएको भन्दै स्थानीयहरूले विरोध गरेका हुन्। उनीहरूले विभिन्न ४ वटा सडकहरूको चौडाइ नक्सामा भएको भन्दा कम गरेर कालोपत्रे गर्न लागेको भन्दै विरोध गरेका छन्।
पुरानो मुख्यमन्त्री निवासदेखि पूर्वतर्फको शिवपुरी सडक जोड्ने निर्माणाधीन सडक नक्सा अनुसार नबनाएपछि स्थानीयहरूले उप–महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका हुन्। सडक बिस्तार गर्ने नाममा उपमहानगरपालिकाले कसैको उठिबास लगाउने र आफ्नो नजिकका व्यक्तिहरूको घरजग्गा रहेको क्षेत्रमा नक्सामा कायम भएको सडकको चौडाइ पनि घटाएको गुनासो स्थानीयको छ। तर, सडक आफ्नै क्षेत्रभित्र निर्माणाधीन रहेको उप–प्रमुख कन्दकला रानाले बताएकी छन्। उनले सडक सहमतिका आधारले बनिरहेको बताएकी हुन्।
मापदण्ड अनुसार नै सडक निर्माण भइरहेको उपमहानगरपालिकाको दाबी छ। नाली बाहिर एक मिटरभित्र विद्युतको पोल, खानेपानीको पाइप र फुटपाथ बनाउन सडकको क्षेत्र छोडेको धनगढी उपमहानगरपालिका–४ का अध्यक्ष बुद्धिबहादुर खड्काले बताएका छन्। आफ्ना निकटका व्यक्तिको सम्पत्ति संरक्षण गर्न दीर्घकालीन रूपमा असर पर्ने गरी सडकको चौडाइ घटाइएको स्थानीय नरोत्तम भट्टले बताए। उनीहरूले वडा अध्यक्ष बुद्धिबहादुर खड्काको नजिकका व्यक्तिको जग्गा रहेकोले सडकको चौडाइ घटाइएको बताएका छन्। स्थानीय तीर्थराज जोशीले केही व्यक्तिलाई फाइदा पुग्ने गरी सडक साँघुरो बनाएर कालोपत्रेको काम भइरहेको र त्यो पनि गुणस्तरहीन रहेकोे बताए।
स्थानीयले निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको र जनप्रतिनिधिले आफ्नो नजिकका व्यक्तिको जग्गा र घर जोगाउन बदमासी गरेको भन्दै विरोध गरेका हुन्। जोशीले भने, ‘सुशासन तथा हाम्रो धनगढी हामी बनाउँछौँ भन्ने मेयर सापको नारा छ। उहाँ चर्चामा पनि हुनुहुन्छ। तर, नारा अनुसारको काम भएन।’
धनगढी उपमहानगरपालिकाका उप–प्रमुख कन्दकला राना, वडाध्यक्ष खड्का, स्थानीय घर नक्सा महाशाखाका कर्मचारी तथा उजुरकर्ता (स्थानीय) बिच छलफलपछि सडकको स्थलगत निरीक्षण समेत गरिएको थियो। निरीक्षणमा पनि सडकको चौडाइ घटाइएको पाइएको छ।
सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय, कैलाली र चन्द्रशेखर डिजाइनिङ् कन्स्ट्रक्सन प्रालिको बिचमा सडक निर्माणको सम्झौता भएको हो। बहु वर्षीय आयोजना अन्तर्गत निर्माण भइरहेका ४ वटा सडकको निर्माण कार्य २०८२ असार मसान्तको सम्पन्न गर्नुपर्ने सम्झौता छ।