सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुर्नया गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

२०८१ चैत्र ५, ०७:०३ खबर संवाददाता

बैतडीः बैतडीको सुर्नया गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता भएको छ। 

खाद्यान्नको ढुवानी, रैथाने बाली खरिद तथा बजारीकरणमा सहकार्य गर्न गाउँपालिका र कम्पनीबीच सोमवार उक्त सम्झौता भएको हो। खाद्य सङ्कटग्रस्त क्षेत्रमा जनताको खाद्य सुरक्षा सुनिश्चित गर्न, खाद्यान्न भण्डारण, ढुवानी, बिक्री तथा बजार व्यवस्थापन गर्ने उद्देश्यले सम्झौता गरिएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले जानकारी दिए। 

गाउँपालिकामा खाद्यको बिक्री तथा खरिद कक्ष स्थापना गरी सञ्चालनमा ल्याइने सम्झौतामा उल्लेख छ। दुर्गम क्षेत्रका नागरिकलाई नियमित खाद्यान्न उपलब्ध गराउन नेपाल खाद्यको बिक्री तथा खरिद कक्ष स्थापना गरिने अध्यक्ष कुँवरले बताए। खाद्यान्नको सहज उपलब्धता, आपूर्ति तथा बजार मूल्य स्थायित्वका लागि सहकार्य गरिने बताइएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्नको ढुवानी र दैनिक बिक्री व्यवस्थापन, जनशक्ति व्यवस्थापन तथा कम्प्युटर बिलिङ प्रणाली सञ्चालन गर्ने, स्थानीय तहले सङ्कलन गरेका रैथाने बालीहरुको खरिद तथा बजारीकरण गर्ने सुर्नया गाउँपालिकाका रोजगार संयोजक सुरेन्द्रसिंह धामीले जानकारी दिए। गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यबीच उक्त सम्झौता भएको हो।
 

कमेन्ट लोड गर्नुस