सुरक्षा निकायलाई डढेलो नियन्त्रण सामग्री हस्तान्तरण

उदयपुरः डिभिजन वन कार्यालय उदयपुरले जिल्लास्थित सुरक्षा निकायलाई वनमा लागेको डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरेको छ।
आज डिभिजन वन कार्यालय गाईघाटले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई अग्नी नियन्त्रण सामग्री हस्तान्तरण गरेको हो। पछिल्लो समय उदयपुरमा दिनप्रति दिन आगलागीका घटना बढ्दै गएपछि आगो नियन्त्रणमा सघाउ पु¥याउने उद्देश्यले सुरक्षाकर्मीलाई अग्नि नियन्त्रणका उपकरण हस्तान्तरण गरेको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख सञ्जीवराज ढकालले बताए।
डिभिजन वन कार्यालयले ब्याक वाटर पम्प, फायर क्यार, जम्प सुट, फायर साबेल हस्तान्तरण गरेको छ। वन कार्यालयले नेपाली सेनाको पशुपति प्रसाद गण पिपलटार ब्यारेक, सशस्त्र प्रहरीको नम्बर ५ गण बोक्से र जिल्ला प्रहरी कार्यालय उदयपुरलाई उक्त सामाग्री हस्तान्तरण गरेको हो।


अग्नि नियन्त्रण सामग्रीको प्रयोगले वन डढेलो नियन्त्रणमा सहज हुने हुँदा उक्त सामाग्री उपलब्ध गराएको वन कार्यालय उदयपुरका प्रमुख ढकालको भनाइ छ।अग्नि नियन्त्रण सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले कसैले जानी–जानी वनमा आगो लगाउने कार्य गरे जोकोहीलाई पनि कानुनी कारबाही गर्ने निर्णय भइसकेको बताए। वन डढेलोले जैविक विविधतामा ठूलो असर पु¥याउने हुँदा वन कार्यालयले दिएको सामग्रीलाई सही रुपमा प्रयोग गरि अग्नी नियन्त्रणमा लाग्नु पर्नेमा उनले जोड दिए।

