सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालका एक सय पच्चिस भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’

२०८१ फाल्गुन २९, १०:५२ रासस

काठमाडौँः नेपालमा बोलिने १२५ भाषाका लागि साझा लेखन पद्धति निर्माण गर्ने उद्देश्यले एउटै ‘फन्ट’ निर्माण गरिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठाले गठन गरेको नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशनबीचको सहमतिअनुसार फन्ट निर्माण गरिएको हो।

कलाकार रमेश पौडेलले कार्यदलको प्रतिवेदनका आधारमा ‘दुबो’ नामक ‘फन्ट’को ‘डिजाइन’ गरेर  मंगलबार सो फन्ट प्रतिष्ठानलाई हस्तान्तरण गरिएको बताए। आवरण प्रकाशनका प्रबन्ध निर्देशक पौडेलले २२४ ‘क्यारेक्टर’ रहेको ‘दुबो’ फन्ट देवनागरी र ‘युनिकोड’भन्दा फरक ‘लेआउट’ मा भए पनि प्रयोगमा सजिलो रहेको बताए।

मंगलबार प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा प्रस्तावित फन्टका विषयमा भाषाविद्सहित छलफल र प्रस्तुतीकरणसमेत गरिएको थियो। त्यस अवसरमा भाषाविद् प्रा डाक्टर माधव पोखरेलले प्रस्तावित फन्टले लिपि नभएका तर नेपालमा बोलिने धेरै भाषाहरूको  लेखन पद्धतिमा देखिएको समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

प्रतिष्ठानका कुलपति भूपाल राईले विज्ञ कार्यदलको सहयोगमा नयाँ फन्ट सिर्जना गरिएको र यो प्रयास निकै उपयोगी हुने बताए। भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले प्रस्तावित फन्टले नेपालमा बोलिने सबै भाषाको लेखनमा एकरूपता आउने बताए। कार्यदलका संयोजक डाक्टर अमृत योञ्जन तामाङले प्रस्तावित फन्टले नेपालका भाषाहरूको लेखनमा सहजता आउने बताए। कार्यदलका सदस्य प्रा. भीमनारायण रेग्मीले प्रस्तावित फन्टका विशेषतासहितको प्रस्तुतीकरण गरेका थिए। 

कार्यक्रममा प्रतिष्ठाका सदस्यसचिव डाक्टर धनप्रसाद सुवेदी, प्र राम लोहनी, डाक्टर कृष्णप्रसाद चालिसे, डाक्टर कर्णाखर खतिवडा, दिलेन्द्र सुब्बा, डाक्टर सूर्यप्रसाद यादव र राजनलाल जोशीले प्रस्तावित फन्टका विषयमा जिज्ञासासहित टिप्पणी गरेको फन्ट निर्माता कलाकार पौडेलले जानकारी दिए। प्रतिष्ठानले गठन गरेको अध्ययन कार्यदलको संयोजकमा डाक्टर तामाङ, सहसंयोजकमा डाक्टर विष्णुकुमार सिंजाली र सदस्यहरूमा प्रा. भीमनारायण रेग्मी, डाक्टर तारामणि राई, अम्बरजङ लिम्बू, प्राज्ञ त्रैलोक्यमान बनेपाली र हंसवती कुर्मी रहेका थिए।

कमेन्ट लोड गर्नुस