अन्तरपालिका भलिबलको उपाधि दशरथचन्दलाई
बैतडीः बैतडीमा सम्पन्न तेस्रो संस्करणको मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि दशरथचन्दले जितेको छ।
फागुन १५ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि मेलौली नगरपालिकालाई हराउँदै घरेलु टोली दशरथचन्द नगरपालिकाले जितेको हो। गोठलापानीस्थित जगन्नाथ बहुउद्देश्यीय खेल मैदानमा सम्पन्न फाइनल खेलमा साविक विजेता मैलाली नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै दशरथचन्द च्याम्पियन बन्यो।
च्याम्पियन भएसँगै दशरथचन्दले एक लाख २५ हजार पुरस्कार पाएको आयोजक मैनेजर तेजबहादुर चन्द ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए। पराजित मेलौलीले ७५ हजारमा चित्त बुझायो। मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा फागुन १५ गतेदेखि सुरू भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाको सहभागिता थियो। प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ।
यस्तै दोगडाकेदार गाउँपालिकाको टिमले अनुशासितको उपाधि हात पारेको छ। जिल्लाका नौ पालिका सहभागी रहेको उक्त प्रतियोगितामा दोगदाकेदारले अनुशासित भएर खेल प्रदर्शन गरेकामा आयोजकले अनुशासितको उपाधि दिएको जनाएको छ।
पहिलोपटक अन्तरपालिका भलिबल प्रतियोगितामा सहभागिता जनाएको दोगडाकेदारले खेल भावना र खेल प्रतिभा देखाएकाले अनुशासित टिम घोषणा भएको रेफ्री संयोजक हरिसिंह भण्डारीले जानकारी दिए। अनुशासित घोषणाको प्रमाणपत्र दोगडाकेदारका तर्फबाट टिम प्रशिक्षकसमेत रहेका पालिकाका खेल प्रशिक्षक नरेन्द्रसिंह कार्कीले ग्रहण गरे।
क्वाटरफाइनलबाट बाहिरिएको दोगडाकेदारको टिमले अनुशासितको उपाधि हात पारेकोमा प्रशिक्षक कार्कीले खुसी व्यक्त गर्दै खेलाडीका लागि अनुशासन प्रमुख गहना रहेको बताए। दशरथचन्द नगरपालिका–५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रीय प्रबन्धक थिए। उनकै स्मृतिमा २०७४ मा स्थापना भएको ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ।